आक्रामक व्यापार गर्दै ‘जात्रै जात्रा’

काठमाडौं । शुक्रबारबाट देशभर एकैसाथ प्रदर्शनमा आएको चलचित्र ‘जात्रै जात्रा’ले रिलिजको पहिलो हप्ता आक्रामक व्यापार गरेको छ । प्रदर्शनको पहिलो दिन नै ६० देखि ७० प्रतिशतको आसपासमा ओपनिङ अकुपेन्सी कायम गरेको चलचित्र शतप्रतिशत अकुपेन्सीका साथ प्रदर्शन भइरहेको निर्माण पक्षले जनाएको छ ।

साढे २ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘जात्रा’ को सिक्वेल भएका कारण दर्शकमा ‘जात्रै जात्रा’ प्रति ठूलो अपेक्षा थियो । फिल्म दर्शकको अपेक्षामाथि खरो उत्रिएको छ । दर्शकले फिल्मको मुक्तकण्ठले प्रशंसा गरेका छन् । समीक्षकहरुले पनि सार्थक सिक्वेलको रुपमा ब्याख्या गरेका छन् ।

फिल्मले सिंगल थिएटरको तुलनामा मल्टिप्लेक्समा आक्रामक व्यापार गरेको छ । चलचित्रले काठमाडौंका सिभिल मल, जय नेपाल, कुमारी, बिग मुभिज, छाया सेन्टर, ललितपुरको लबिम मललगायतमा राम्रो व्यापार गरेको निर्माण पक्षले जनाएको छ ।

चलचित्रको इनिसियल व्यापार मात्र आक्रामक होइन, दर्शकले समेत यसलाई निकै नै राम्रो प्रतिक्रिया दिएको भन्दै निर्माण पक्ष चलचित्र लामो समय जानेमा विश्वास देखिएको छ ।

जीवनबारे धेरैले जवाफ खोजे पनि आजसम्म सर्वमान्य निचोड कसैले निकाल्न सकेको छैन । तर फिल्म ‘जात्रै जात्रा’ले भने गीतमार्फत नै निष्कर्ष निकालेको छ, ‘जीवन जात्रा हो ।’ जात्रालाई नेपाली समाजले दुईवटा अर्थमा लिन्छ— एउटा उत्सव, अर्को भद्रगोल । जीवन भद्रगोल मात्र छैन, उत्सवमय पनि छ । जीवनका यिनै आयामलाई बाँधेर निर्माण गरिएको चलचित्र हो— जात्रै जात्रा ।

‘जात्रै जात्रा’ मा पछिल्लो समय धेरैले रुचाएका कलाकार विपिन कार्की, वर्षा रावत, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेललगायतका कलाकारहरुको अभिनय छ ।

‘जात्रा’ जहाँ अन्त्य भएको थियो सिक्वेल त्यहींबाट सुरु हुन्छ । तीन वर्ष जेल जीवन विताएर फर्किएका विपिन र दुई रविन्द्रले अचानक १० केजी सुन भेटाएपछि त्यसलाई लुकाउन गरिने प्रयासलाई फिल्ममा देखाइएको छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top