आइपिएल क्रिकेटको उपाधि मुम्बईलाई

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । सनसनिपूर्ण खेलमा चेन्नाई सुपर किङ्सलाई १ रनले पराजित गर्दै मुम्बईले चौथो पटक उपाधि जितेको हो ।

आइतवार राति हैदरावादमा भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै मुम्बईले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो । २०औं ओभरको अन्तिम बलमा जितका लागि २ रन चाहिएको अवस्थामा मुम्बईका बलर लासिथ मालिंगाले चेन्नईका शार्दुल ठाकुरलाई एलबीडब्लुको धरापमा पार्दै मुम्बईलाई रोमाञ्चक जित दिलाए ।

मुम्बईका काइरन पोलार्डले अविजित ४१ रन बनाए । क्विन्टन डी ककले २९, इसन किसनले २३, हार्दिक पान्ड्याले १६, कप्तान रोहित शर्मा र सूर्यकुमार यादवले समान १५/१५ रन जोडे । चेन्नईका दीपक चाहरले तीन तथा शार्दुल ठाकुर र इमरान ताहिरले समान दुई/दुई विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा एक समय चेन्नाई बलियो अवस्थामा थियो । ओपनर फाफ डु प्लेसिस २६ रन बनाएर आउट भएपछि दोश्रो विकेटको लागी शेन वाटसन र सुरेश रैनाले ३७ रनको साझेदारी गर्दै पारी अघि बढाए ।  रैना दशौँ ओभरमा ८ रन बनाएर आउट भए । लगत्तै अम्बाती रायडु पनि एक रन मात्र बनाएर आउट हुँदा चेन्नाई समस्यामा पुग्यो ।

कप्तान महेन्द्र सिंह धोनी १३ औं ओभरमा रन आउट हुन पुग्दा चेन्नाई थप समस्यामा पर्यो । चेन्नईका सेन वाटसनले ८० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।  मुम्बईका लागि जसप्रित बुमराहले दुई तथा कुणाल पाड्या, लासिथ मालिंगा र राहुल चाहरले एक/एक विकेट लिए ।

आईपीएलको फाइनलमा मुम्बई र चेन्नईबीच भिडन्त भएको यो चौथो पटक हो । सन् २०१० मा भएको फाइनलमा चेन्नईले मुम्बईलाई हराएको थियो । त्यसपछि सन् २०१३ र सन् २०१५ मा भएको फाइनलमा मुम्बईले चेन्नईलाई हराउँदै उपाधि हात पारेको थियो ।

प्रतियोगिताको १२औं संस्करणको फाइनल सकिनुअघि साविक विजेता चेन्नई र मुम्बई दुवैले तीन/तीन पटक उपाधि जितेका थिए । यसैगरी सन् २००८ देखि सुरु भएको आईपीएलमा कोलकाता नाइट राइडर्सले दुई तथा राजस्थान रोयल्स, डेक्कन चार्जर्स र सनराइजस् हैदराबादले एक÷एक पटक उपाधि चुमेका छन् ।

 

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top