काठमाडौं, ८ भदौ । कुनै मेला जस्तो देखिन्थ्यो, बिहीबार दिउँसो नयाँ बसपार्कको बिजी मलको आँगनमा । हेर्नेहरुको भिड थियो । कलाकारहरु गीत गाउंदै थिए, नाच्दै थिए अनि हाँसोको फोहोराले चारैतिर रमाईलो थियो । खासमा त्यो भिड एउटा फिल्मको लागि थियो । फिल्मका कलाकारहरुको प्रस्तुति हेर्न थियो अनि रमाउन थियो ।

भदौ १५ बाट दर्शकमाझ रिजिमा आउँदै गरेको फिल्म ‘मेरी मामु’ले आफ्नो महा प्रचारको अर्को अध्याय सुरु गरेको छ । देशका मुख्य शहरहरुमा सांगीतिक कन्सर्ट गरेर । यस अगावै स्कुल क्याम्पियन चलाएर फिल्मको हाईपलाई उचाईमा पु¥याएका निर्माता सन्तोष सेनले पव्लिसिटीमा कुनै लोभ नगर्दै दर्शकहरुकै घर आँगनमा पुग्ने निर्णय गरे । काठमाडौंको नयां बसपार्कबाट सुरु भएको कन्सर्टमा हजारौं दर्शकहरुको भिड देखियो ।

आमा र छोराको सम्बन्धको कथा ‘मेरी मामु’को कन्सर्टमा कार्यक्रम प्रस्तोताहरुले हसाउँनु हसाए । कलाकार तथा भिजे शिशिर भण्डारीले दर्शकहरुलाई एकछिन बोर हुन दिएनन् । फिल्मको शिर्ष गीत गाएका रोहित जंग क्षेत्रीले ‘मलाई माफ गरिदेऊ आमा’ गीत गाएर सबैलाई भावुक बनाए । यता अर्का गायक बादल थापाले रोमान्टिक गीतमा सबैलाई झुमाए ।
यो अगावै ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ जस्ता सफल फिल्महरु दर्शकहरुलाई दिईसकेका फिल्मको व्यानर आशुसेन फिल्मसको चौंथौं फिल्म ‘मेरी मामु’को कन्सर्टमा मोडल आरुषी मगरले ‘मोटर साईकलमा’ भन्दै नाच्दा युवाहरु पनि उफ्री उफ्री नाचे ।

कार्यक्रमको रोमान्चकता यतिमै सिमित रहेन । फिल्मका बाबुको भुमिका निभाएका अभिनेता सारुक ताम्राकार र आमाको भुमिकामा रहेकी नव नायिका कुसुम गुरुङले फिल्मको बारेमा बताउँदा सबै आफ्नै आमालाई सम्झदै हराए । कन्सर्टमा सुनमा सुगन्ध त्यतिबेला थपियो, जतिबेला फिल्मका मुख्य कलाकार आयुब सेनको दमदार इन्ट्री भयो ।
‘मेरी मामु’को गीत र ट्रेलर रिलिजसँगै सेलिब्रेटी बनिसकेका आयुब सेन स्टेजमा आउँदा उपस्थित सबै दर्शकहरुले ताली पिटे, कराए, चिच्याए, सिट्टी फुके । आयुबले दर्शकहरुलाई सम्बोधन गर्दै फिल्मलाई हेरेर आफुलाई सपोर्ट गरिदिन आग्रह गरे । आयुबको प्रत्यक्ष बोल्ने क्षमताले पनि सबै दर्शकहरु चकित परे ।
साँझ ६ बजे भक्तपुरको सुर्य बिनायकमा ‘मेरी मामु’को दोस्रो कन्सर्ट आयोजना गरिएको थियो । ३ हजारको संख्यामा दर्शकहरुको उपस्थिति रहेको कन्सर्ट झनै रोमान्चक बन्यो । बाल नायकसँग हात मिलाउन, सेल्फी खिच्न खोज्नेहरुको लर्को लाग्यो । फिल्मको ट्रेलर र गीत पनि देखाईएको कन्सर्टमा उपस्थित दर्शकहरुको हुटिङले गज्जबको बनायो ।
‘मेरी मामु’ कन्सर्ट अन्तर्गत शुक्रबार लगनखेल र किर्तिपुरमा कन्सर्ट हुंदैछ । काठमाडौंको कन्सर्ट भ्याएर ‘मेरी मामु’को टोली कलाकार सहित उपत्यका बाहिर जाँदैछ । जस अन्तर्गत ९ गते पोखरा, १० गते बुटवल, ११ गते चितवन, १२ गते इटहरी, १२ गते नै दमक र १३ गते धरानमा बृहत सांगीतिक कन्सर्ट आयोजना हुंदैछ ।
यस किसिमको सांगीतिक कन्सर्टको उद्येश्यबारे बोल्दै फिल्मका निर्माता सन्तोष सेनले कन्सर्टका माध्यमले कलाकारहरुको दर्शकसंगको सामिप्यता बढ्ने, फिल्मको बारेमा जानकारी हुने र दर्शकहरुले भरपुर मनोरञ्जन पाउने पनि बताए । राम्रो कथावस्तुमा राम्रो फिल्म बनाएपछि प्रचार पसार चाहिन्छ, निर्माता सेन बताउँछन् ।
यम थापा निर्देशित फिल्म ‘मेरी मामु’ मा ‘प्रेम गीत २’फेम अभिनेत्री अश्लेषा ठकुरीको पनि मुख्य भुमिका रहेको छ ।