काठमाण्डौ ७,भदौ–कञ्चनपुरकी निर्मला पन्त हत्या काण्डका दोषीलाई कारबाहीको माग गर्दै अधिकारकर्मीले प्रधानमन्त्री र प्रदेश ७ का मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
१३ बर्षकी बालिका निर्मलाको बलात्कार पछि हत्या भएको बिहीबार २८ दिन पुग्दा पनि मुख्य अभियुक्तलाई पक्राउ गर्न नसकेको भन्दै सरोकारवालाहरुले प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र पठाएका हुन् ।
गम्भीर अपराधमा संलग्न अभियुक्तलाई कानुनी कठघरामा ल्याउन प्रहरीले ढिला गरेको नागरिक समाज, नेपाल पत्रकार महासंघ, गैर सरकारी संस्था महासंघ, निर्माण व्यवसायी संघ, उद्योग वाणिज्य संघ, महिला मुक्ति समाज लगायतका अधिकारर्मी संघ संस्थाहरुले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएका हुन् ।
बलात्कारमा संलग्नलाई कारबाहीको माग राखेर आन्दोलन गर्दा प्रहरीको गोली लागेर घाइते हुनुपर्ने अवस्था रहेको भन्दै उनीहरुले लोकतन्त्रको अनुभूति गर्न नपाएको बताएका छन् ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दुःखद घटनाले कानूनी राजको अपेक्षा गर्ने आम सर्वसाधारणलाई निराश बनाएको भन्दै दोषीलाई कारबाहीको पक्षमा आफू पनि रहेको बताए ।