आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा प्रहरीसहित आठ घाइते

भीमदत्तनगर, ७ भदौ –कञ्चनपुर सदरमुकाम भीमदत्तनगरमा आज आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा दुई प्रहरीसहित आठ जना घाइते भएका छन् ।
यहाँको ट्राफिक चोकमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपपछि प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १७ वर्षीय अर्जुन भण्डारीलाई गोली लागेको छ भने अन्य पाँच आन्दोलनकारीलाई गोलीको छर्रा लागेको महाकाली अञ्चल अस्पतालले जनाएको छ ।

घाइते हुनेमा तेज भट्ट, कृत पनेरु, मनोज बुढा, सरोज खड्का र सन्तोष कठरिया रहेका छन् । बायाँ खुट्टामा गोली लागेका भण्डारीलाई थप उपचारका लागि धनगढी पठाइएको अस्पताल स्रोतले जनाएको छ । आन्दोलनकारीको ढुङ्गा लागेर प्रहरी हवल्दार हर्कबहादुर पाल र जवान महेश भट्ट घाइते भएका छन् ।

भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरवासी आन्दोलनमा छन् । गत आइतबार भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई हत्याको अभियुक्त भन्दै प्रहरीले सार्वजनिक गरेपछि आन्दोलन झन् चर्किएको हो । मानसिक सन्तुलन गुमाएका विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको आरोप लगाउँदै स्थानीयवासी तीन दिनदेखि आन्दोलनमा छन् । आन्दोलन उग्र बनेपछि कञ्चनपुरमा कर्फ्यू आदेश जारी गरिएको छ ।

निर्मला हत्या काण्ड : कञ्चनपुरमा गोली चल्यो, ७ घाइते

Leave a Reply

Your email address will not be published.