वीरगञ्ज,०७ भदौ । वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष ०७५र७६ को पहिलो महिनामा १२ अर्ब ६१ करोड ८७ लाख राजश्व संकलन गरेको छ । वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष को पहिलो महिनामा लक्ष्यभन्दा ५ प्रतिशत बढी राजश्व संकलन गरेको हो ।
विभागले कार्यालयलाई साउन महिनामा १२ अर्ब १ करोड २४ लाख राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो ।
वीरगञ्ज भन्सार कार्यालका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा गत आर्थिक वर्षमा भन्दा ४५ प्रतिशत बढी राजश्व संकलन गरेको हो । दुईवटा नाकाबाट काम भइरहेको र यस वर्ष सरकारले आर्थिक नीतिमा परिवर्तन गरेकाले राजश्व असुलीमा वृद्धि भएको बताएका छन ।
गत आर्थिक वर्षमा भने वीरगन्ज भन्सारले लक्ष्यभन्दा दुई प्रतिशत कम राजश्व संकलन गरेको थियो । कार्यालयले गत वर्ष १ खर्ब ३४ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य पाएको थियो ।
चालु आर्थिक वर्षको साउनमा भन्सार महसुलतर्फ ४ अर्ब २६ करोड ३४ लाख ४४ हजार, मूल्य अभिवृद्धि करतर्फ ५ अर्ब ३६ करोड ६६ लाख १७ हजार, अन्तः शुल्कतर्फ २ अर्ब २५ करोड ७० लाख, ४६ हजार, पूर्वाधार करतर्फ ५० करोड २४ लाख, ६० हजार र अन्य विविध कर तथा शुल्कबाट २२ करोड ९२ लाख २४ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
विगतमा भन्दा नयाँ सवारी साधन, इन्धन, औद्योगिक कच्चा पदार्थलगायत सामान आयात बढेकाले राजश्वमा सकारात्मक प्रभाव परेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।