काठमाडौँ,०७ भदौ । विभिन्न देशका अस्पतालमा अचेत अवस्थामा रहेका नेपालीलाई सरकारले स्वदेश ल्याएर उपचार गर्ने भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले रोजगारीको सिलसिलामा विदेश गएर विरामी भई अचेत अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेशमै ल्याएर उपचारको व्यवस्था मिलाउन लागेको बताएका छन् ।
मन्त्री बिष्टले अचेत अवस्थाकामा रहेका बिरामीको परिवारले भोगेको चिन्ता, मानसिक पीडाप्रति सरकार गम्भीर रहेको समेत बताएका छन् ।
संवेदनशील विषय भएकै कारण वर्तमान सरकार गठन भएदेखि नै कोमामा रहेका नेपालीलाई स्वदेश झिकाउने पहल गरिरहेको र यो विषयमा स्वास्थ्य मन्त्रालयसँग पनि सरकारले पटकपटक छलफल गर्दै आएको मन्त्री विष्टले जानकारी दिए ।
वैदेशिक रोजगारीमा गएका हजारौँले जीवन गुमाउनु पर्नाको कारण अध्ययन गर्न जरुरी भएको बताउँदै मन्त्री विष्टले सरकारले विज्ञ चिकित्सकको टोली गठन गरेर नेपाली कामदारको मृत्युको कारण अध्ययन गर्ने प्रतिबद्धता गरेका छन् । सामान्य अवस्थामा सुतेका श्रमिकको अर्को दिन मृत्यु हुने गरेकाले यसको कारण खोज्नुपर्ने र अबका दिनमा यस्ता घटना हुन नदिन श्रमिकहरुलाई सचेत गराउनु पर्नेमा जोड दिएका छन् ।
वैदेशिक रोजगारीका क्रममा विभिन्न देश पुगेका २३ नेपाली हाल विदेशी अस्पतालको कोमामा रहेका छन्।