महोत्तरी÷ निजी बोर्डिङ् विद्यालयको दवदवा बढ्दै गएको बेलामा महोत्तरीमा सञ्चालन भइरहेको एउटा निजी बोर्डिङ विद्यालय भने सरकारी विद्यालयमा गाभिएको छ । जिल्लाको बर्दिबास नगरपालिका–८, हात्तीलेटमा रहेको मोडेल इङ्लिस बोर्डिङ स्कुल सरकारी विद्यालयमा गाभिएको छ ।
स्थानीय शिशु कल्याण आधारभूत विद्यालय र मोडेल इङलिस बोर्डिङ समायोजन भएका हुन् ।
साउन ८ गतेदेखि नै समायोजन भएका निजी र सरकारी विद्यालयको औपचारिक समायोजन भदौ ६ गते भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले समायोजन कार्यक्रममा सहभागी थिए ।
सो अवसरमा एउटा निजी र अर्को सामुदायिक विद्यालय मिलाएर नयाँ ढङ्गले लाने अभियान सुरु हुनु प्रगतिशील, सकारात्मक र सुखद भएको मन्त्री पोखरेलले बताए ।
निजी र सरकारी विद्यालय समायोजन कसरी गर्ने भन्नेबारे केन्द्र सरकारले ठोस कार्ययोजना बनाई नसकेको भए पनि यो अनिवार्य आवश्यकता भइसकेको मन्त्री पोखरेलले बताए ।
निजी विद्यालय सरकारीमा गाभिएपछि कसरी अघि बढ्ने भन्ने चुनौति थपिएको भनाइ मन्त्री पोखरेलको थियो । नेपालको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने प्रणाली भएको बताउँदै प्राविधिक शिक्षालाई प्राथमिकता दिएर शिक्षालाई रोजगारीसँग जोड्नु पर्नेमा जोड दिए ।
यसरी समायोजन भएपछि सरकारी विद्यालयमा ६ जना र निजीमा ६ जना गरी १२ जना शिक्षक÷शिक्षिका छन् । ५ कक्षासम्म अध्ययन हुने निजी विद्यालयमा १ सय १४ र सरकारीमा ५७ जना गरी जम्मा १ सय ७१ जना विद्यार्थी अध्ययनरत छन् ।