‘मिस नेपाल युएसए २०१८’को ताज दिलाशा न्यौपानेलाई

डलास (टेक्सस) ७ भदौ । छैठौं ‘मिस नेपाल युएसए २०१८’को ताज नेब्रास्का निवासी २४ वर्षीय दिलाशा न्यौपानेले जितेकी छन् । १६ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । कार्यक्रममा शीर्ष उपाधिका साथ उनले मिस एकाडेमिक एक्सिलेन्स अवार्ड समेत हात पारिन् ।

टेक्सस शहरमा १९ अगस्टमा एक भब्य कार्यक्रमसहित सम्पन्न प्रतियोगितामा फस्ट रनर अप टेक्ससकी २२ वर्षीया पोसा घर्ती मगर चुनिंदा सेकेण्ड रनरअपको उपाधि कोलोराडोकी २१ वर्षीया कृति ढुंगेलले हात पारिन् । घर्तीमगरले मिस पर्सनालिटि, मिसकल्चर र मिस फ्रेन्डली विधामा समेत अवार्ड जित्न सफल भइन् ।

प्रतियोगितामा टेक्ससकी आयशा ओझा मिस पब्लिक च्वाइस बनिन् । सोर्वे फाउण्डेशनको सद्भावना दूतसमेत हात पारेकी आयशाले मिस सोशल एक्सिलेन्सको अवार्ड समेत चुमिन् । यसैगरी अदिति श्रेष्ठले मिस डिसिपिलिन, निलिया गुरुङले मिस फोटोजेनिक, विना श्रेष्ठले मिस क्याटवाक, स्वीकृति भट्टराईले मिस ट्यालेन्ट र वियन्का अधिकारीले मिस नेपाल टेक्ससको उपाधि हात पारे ।

सन् २०११ देखि अमेरिकाको न्युयोर्क शहरबाट सुरु भएको प्रतियोगिता ‘मिस नेपाल युएसए’का संस्थापक परिकल्पनाकार इप्लानेट नेपालका सन्तोस सापकोटा र अमेरिकामा चर्चित युवा नेपाली इण्टरप्रेनर अमित शाह हुन् । टेक्ससको डलास नजिकको शहर सिटी अफ प्लानोले समेत सहकार्य गरेको प्रतियोगितामा नेपाली समाज टेक्सस र नेपाल पर्यटन बोर्डको समेत सहभागिता रहेको थियो ।

पूर्व मिस नेपाल मेलिना जोशी, कोरियोग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजिव श्रेष्ठलगायतको प्रशिक्षकबाट बिभिन्न प्रशिक्षणसहित प्रतियोगी फाइनलमा उत्रिएका थिए । प्रतियोगी सिगार्ने जिम्बेवारी मञ्जु दुलाल(सापकोटा)ले गरेकी थिइन् । अमेरिकामा रहेका नेपाली युवतीको सौन्दर्य र बौद्धिकता निखार्ने उद्देश्य रहेको यो प्रतियोगिता ‘ईम्पावरिङ्ग युथ, प्रोमोटिङ नेपाल’ मूल नाराका साथ आयोजना हुँदै आएको छ ।

यसपटकको प्रतियोगिताको होष्ट संजय गुप्ताले गरेका थिए भने प्रतियोगीको फेसन डिजाइन लजिमा सुब्बा र क्षतिजा शाक्यले तयार गरेका थिए । सौन्दर्य प्रतियोगीताको यो छैठौ संस्करण नेपाल ११ इन्टरटेनमेन्टका प्रतीक सुवेदीको ब्यवस्थापनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.