काठमाडौं, ७ भदौ । नेपाल एअरलाइन्सले पछिल्लोपटक खरिद गरेका ‘वाइडबडी’ जहाज खरिद प्रकरणमा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र नेपाल वायु सेवा निगमबाट खरिदसम्बन्धी फाइल झिकाएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।
समाचारका अनुसार जहाज खरिदमा बिचौलियासँगको मिलिभगतमा एकलौटी सम्झौता गरिएको प्रश्न उठेपछि अख्तियारले आवश्यक कागजात र फाइल झिकाएको हो । निगमको आर्थिक विनियमावली, २०६५ अनुसार निर्माता कम्पनीसँग मात्र नयाँ विमान खरिद गर्न सकिने भएपनि त्यसविपरित एक हजार घण्टा उडेको भन्दै पुरानो विमान खरिद गर्ने प्रक्रिया अपनाएको बिषयमा प्रश्न उठेपछि अख्तियारले छानबिनका लागि फाइल झिकाएको हो ।