कञ्चनपुर, ७ भदौ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आन्दोलनको रापमा छ । १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा प्रहरीले वास्तविक अपराधीलाई बचाउन खोजेको भन्दै व्यापारीहरुले स्वतःस्फूर्त रूपमा बजार–व्यवसाय बन्द गरेका छन् । आजको राजधानीमा यो समाचार छापिएको छ ।
प्रहरीले निर्मला हत्यामा संग्लन रहेको आरोपमा भीमदत्त नगरपालिका–१९ का ४१ वर्षीय दिलिपसिंह विष्टलाई मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेपछि आन्दोलनले नयाँ रूप लिएको छ ।
प्रहरीले विष्टलाई मुख्य दोषी भनेपछि आन्दोलनको राप झन् बढ्दै गएको छ । प्रहरीले अभियुक्त सार्वजनिक गर्दा स्याबासी पाउनुपर्ने हो तर उल्टै नागरिकले प्रहरी अनुसन्धानमाथि नै प्रश्न खडा गरेका छन् ।
खन्ना चौराहामा भेटिएका स्थानीय बासिन्दाहरुले दिलिपले यसअघि कुनै पनि महिलालाई दुव्र्यवहारसमेत नगरेको बताएका छन् । छिमेकी खेमा सुवेदीले भनिन्, ‘प्रहरीले भनेजस्तो बलात्कार र हत्या गर्न सक्ने शारीरिक क्षमता नै दिलिपसँग थिएन ।’ सुवेदीका अनुसार दिलिप शारीरिक भार पर्ने कुनै पनि काम गर्न सक्षमसमेत थिएनन् । ‘एक अँगालो दाउरा पनि बोक्न सक्दैनथे,’ सुवेदीले भनिन्, ‘सानो काम गर्दा पनि उनलाई स्वाँस्वाँ हुन्थ्यो ।’
दिलिपको त्यो सर्ट
चार सातासम्म चित्तबुझ्दो जवाफ र अनुसन्धान नगरेको प्रहरी एकाएक ४ भदौमा निर्मलाको घरमा पुग्यो । निर्मलाका बाबु यज्ञराजका अनुसार प्रहरीले निर्मलाको हत्या भएको स्थानमा अपराधीको केही प्रमाण छ भन्ने जानकारी गरायो । यज्ञराज पनि घटनास्थल गए । उनी भन्छन्, ‘घटनास्थलमा गएको २ मिनेटमै प्रमाण भेटियो भन्दै प्रहरी चिच्याए, अनि सर्टको खल्तीको कपडा र कन्डम बरामद गरियो ।’
रहस्यको विषय के छ भने १० साउनदेखि प्रहरी, स्थानीय, पत्रकार, नागरिक समाजका प्रतिनिधि, सीआईबीको टोली पटकपटक घटनास्थल पुग्दा नभेटिएको कपडालगायतका सामग्री अहिले त्यहाँ कसरी भेटियो रु प्रहरीले बलात्कारी भनिएका दिलिपकै सर्ट भएको दाबी गर्दै आएको छ ।
दिलिपको पारिवारिक स्रोतका अनुसार प्रहरीले दिलिपको घरमा गएर उनले लगाउने गरेको सर्ट मागेर लगेको थियो । पछि त्यही सर्टको खल्ती च्यातेर घटनास्थलमा राखियो । अनि दिलिपलाई घटनाको मुख्य अभियुक्त बनाएर प्रस्तुत गरियो ।