भक्तपुर, ६ भदौ – विसं २०७२ को भूकम्पले घर भत्किएर लाभग्राहीको सूचीमा परे पनि घर बनाउन दिएको अनुदान लिन नआएका लाभग्राहीको खोजी शुरु भएको छ । जिल्ला पुनःनिर्माण सहजीकरण समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा बसेको बैठकले चार निर्णय गरेसँगै टोली खटाएर हराएका लाभग्राही खोज्न थालिएको हो । प्रमुख गैडाले मङ्गलबारदेखि जिल्लाका चारै नगरपालिकाका वडा कार्यालयमा टोली पठाएको जानकारी दिए ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जीएमएएलआई) भक्तपुरका प्रमुख ध्रुव गैडाले लाभग्राहीको सूचीमा परे पनि अनुदान लिन नआएका लाभग्राहीको खोजी शुरु भएको बताए । उनले भने, “भूकम्पको लाभग्राही सूचीमा परेका तर पहिलो किस्ता पनि लिन नआएका र पहिलो किस्ता लगेर दोस्रो किस्ता लिन नआएका लाभग्राहीको मङ्गलबारदेखि टोली खटाएर खोजी शुरु गरेका छौ ।”
भक्तपुरमा २८ हजार ३ सय २ लाभग्राही सङ्ख्या छ । तीमध्ये २३ हजार ५ सय ६६ लाभग्राहीले पुनःनिर्माणका लागि अनुदान सम्झौता गरेर पहिलो किस्ता लगेका छन् । दोस्रो किस्ता लिनेमा चार हजार ३ सय ३८ र तेस्रो किस्ता लिनेमा तीन हजार ७२९ छन् । पहिलो किस्ता लिन नआउने चार हजार ७ सय ३८ छन् । पहिलो किस्ता लगेर दोस्रो किस्ता लिन नआउने १९ हजार २ सय २८ छन् । तेस्रो किस्ता लिनुपर्ने लाभग्राहीको सङ्ख्या २४ हजार ५ सय ७३ छ ।
समितिको बैठकले भूकम्प प्रभावित लाभग्राहीले २०७४ चैत मसान्तसम्म प्रथम किस्ता लिएकाले २०७५ असार मसान्तसम्म दोस्रो किस्ता र २०७५ पुस मसान्तसम्म तेस्रो किस्ता लिइसक्नुपर्ने व्यवस्था छ । पुनःनिर्माणको अवस्थालाई हेरेर पहिलो किस्ता लिएकाले दोस्रो किस्ता पुससम्म र तेस्रो किस्ता २०७६ असारसम्म लिइसक्नुपर्ने नीतिगत व्यवस्था गरिदिन पुनःनिर्माण प्राधिकरणलाई अनुरोध गर्ने भएको छ ।
भक्तपुर नगरपालिका लगायतमा एउटै घरको तला तला वा कोठा कोठा लिएर छुट्टिएर भिन्नै बसेका तर नयाँ घर बनाउने अन्यत्र जग्गा नभएका एवं आर्थिक अवस्था कमजोर भएकाको हकमा एउटै घरमा तीन लाख खर्च नबढाई एउटै घरमा तला थपेर बनाउन अनुमति दिन अनुरोध गर्ने निर्णय प्राधिकरणलाई सिफारिस गरेको छ ।