कालीमाटी तरकारी बजार खुल्यो , तरकारीको मूल्यमा केही कमी

काठमाडौँ,०६ भदौ । कालीमाटी तरकारी बजार खुले पनि तरकारीको उपलब्धतामा भने उल्लेख्य कमी आएको छ । सोमबारदेखि बन्द कालीमाटी तरकारी बजार आजदेखि खुलेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट खटिएको अनुगमन टोलीलाई दुव्र्यवहार गरेपछि विवाद हुँदा काठमाडौँ उपत्यकाको मुख्य तरकारी बजार बन्द रहेको थियो ।

सरकारले आफूखुसी अनुगमनको नाममा आफूहरुलाई मारमा पारेको भन्दै व्यापारीहरुले सोमबार दिउँसोबाट बजारमा फलफूल तथा तरकारीको बिक्री वितरण बन्द गराएका थिए । तर सरकारले दबाब दिएपछि उनीहरु पुनः खोल्न बाध्य भएका हुन ।

सोमबार अनुगमनको क्रममा किसानले पाउने मूल्यको चार गुणा बढीसम्म व्यापारीले उपभोक्ताबाट रकम लिने गरेकोले पाइएको थियो । अनुगमन टोलीलाई विरोध गर्न मुख्यभूमिका खेलेको भन्दै फलफूल तथा तरकारी व्यवसायी सङ्घका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरिएको थियो । सरकारी अनुगमनको विरोधमा उत्रिएका व्यवसायीले मङ्गलबार अबेर मात्र आन्दोलन फिर्ता लिएका थिए ।

व्यापारीहरुले अनुगमन गरेर नियन्त्रणमा लिएको तरकारीको क्षतिपूर्ति कृषकलाई उपलब्ध गराउन पनि सरकारसँग माग गरेका छन् । सरकारी अनुगमनपछि बुधबार बिहानबाट तरकारी बजारमा मूल्यमा पनि केही कमी आएको छ ।

Leave a Reply

Your email address will not be published.