कञ्चनपुर, भदौ ६ – १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याको विषयलाई लिएर यतिबेला कञ्चनपुर तनावग्रस्त बनेको छ । निर्मला बलात्कार र हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका दिलिपसिंह विष्ट पक्राउ परेका छन् । तर वास्तविक हत्यारा लुकाउन प्रहरीले विष्टलाई पक्राउ गरेको आरोप एकथरीले लगाएका छन् ।
निर्मला बलात्कार र हत्या प्रकरणमा प्रहरीद्वारा अभियोग लगाइएका भीमदत्त नगरपालिका–१९ का दिलिपसिंह विष्ट ‘मानसिक सन्तुलन गुमाएका’ व्यक्ति भएको एकाथरी आन्दोलनकारीको दावी छ । निर्मला बलात्कार र हत्या प्रकरणका अभियुक्त विष्ट भिनाजुको हत्या अभियोगमा ९ वर्ष जेल बसिसकेका व्यक्ति भएको प्रहरीले जनाएको छ । विष्ट ‘राम्रो चालचलन भएको’ भन्दै गणतन्त्र दिवसमा राष्ट्रपतिको सिफारिसमा रिहा भएका थिए ।
विष्टले ‘आफू एक पटक जेल गइसकेको र अब सबैलाई मारेर जेल जान्छु’ भनेर पटक–पटक भन्ने गरेको उनका आफन्त र छिमेकी बताउँछन् । विष्टले आफ्नै परिवार र छरछिमेकका महिलामाथि पनि पटकपटक दुव्र्यवहार गर्ने गरेको पनि प्रहरीले बताएको छ ।
१३ वर्षीया निर्मलाको साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो । साथी रोशनीको घरमा गएकी निर्मलाको साथीको घरबाट र्फकने क्रममा बलात्कारपछि हत्या भएको अनुसन्धानमा संलग्न प्रहरीको दावी छ ।
निर्मलाको साइकलको चेन बिग्रिएको देखेपछि बनाइदिएको र बलात्कारपछि हत्या गरेको तथा निर्मलाको साथमा रहेको ३० रुपैयाँ झिकेर आफूले गुट्खा किनेर खाएको बयानका क्रममा बिष्टले स्वीकारेको प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धान र सोधपुछका क्रममा अभियोग स्वीकार गरिसकेपछि उनलाई अभियुक्तको रुपमा सार्वजनिक गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
निर्मलाको हत्या र कञ्चनपुरमा देखिएको तनावबारे बुझन् खोज्दा, ‘अभियोग स्वीकारिसकेपछि प्रहरीले विष्टलाई सार्वजनिक गरेको तथा थप अनुसन्धान जारी रहेको’ गृह मन्त्रालय स्रोतले जनदिशालाई बतायो ।
मानसिक सन्तुलन गुमाएको मान्छेलाई बलात्कार र हत्याको आरोपी बनाउन मिल्दैन भनेर कन्चनपुरमा भइरहेको प्रदर्शन गलत स्वार्थले अभिप्रेरित रहेको प्रहरीको भनाइ छ । पर्याप्त अनुसन्धान गरेर अभियुक्तलाई पक्राउ गरिएको र घटनामा संलग्न विष्टलाई प्रमाणसहित अदालतमा उभ्याउने तयारी रहेको प्रहरी स्रोतबाट खुल्न आएको छ ।