पाल्पा,०५ भदौ – पाल्पा जिल्लाको माथागढी गाउँपालिका–२, रुप्सेका दिनेश झेडी तीन वर्षदेखि बेपत्ता भएका छन्। पैसा कमाउन मलेसियामा गएका दिनेश तीन वर्षदेखि घरपरिवारसँग सम्पर्कविहीन रहेको उनका परिवारले जानकारी दिएका छन ।
पैसा कमाउन गएको छोराले घरमा फोनसमेत नगर्दा परिवारका सबै पीडामा रहेको बुवा गुनबहादुर झेडीले बताए। ऋण खोजेर पैसा कमाउन गएको तर घरपरिवारसँग सम्पर्क नहुँदा परिवारमा समस्या थपिएको छ। मलेसिया गएको पाँच वर्ष भइसकेको तर दुई वर्षको अवधिसम्म घरपरिवारसँग सम्पर्क हुने गरेपनि त्यसपछि सम्पर्क हुन नसकेको गुनबहादुरले बताएका छन् ।
विदेशबाट छोराको फोन आँउछ की भन्दै टेलिफोनको आशामा दिनरात बितेको आमा गीता झेडीको भनाइ छ। उनका जेठा दाइ सुन्दर झेडीले मलेसियामा रहेका नेपालीलाई सामाजिक सञ्जालमार्फत भाइको खोजी गरिदिनुहुन अनुरोध गरेका छन्।
स्थानीय बासिन्दा तथा अगुवा युवा नवराज पन्थीले मलेसियामा रहेका नेपाली दाजुभाइलाई दिनेश झेडीलाई खोजेर घर पठाउन अनुरोध गरेका छन्। नेपाली युवा विदेशमा गएर परिवारको सम्पर्कमा नआउँदा परिवारमा समस्या हुँदै आएको छ। रासस