काठमाण्डौँ ,०६ भदौ । बुधबारदेखि ट्याक्सी चालकहरुले अनिवार्य रुपमा ड्रेस लगाउनुपर्ने भएको छ ।
बुधबार महानगरीय ट्राफिक महाशाखाले सुन्धरामा विशेष कार्यक्रम गरी राजधानीका भाडाका ट्याक्सी चालकलाई अँध्यारोमा टल्कने र टाढैबाट प्रष्ट देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगानुपर्ने व्यवस्था लागू गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि ज्याकेट अनिवार्य गरेको भए पनि पर्याप्त ड्रेस नभएको कारण एक महिनाको समय दिएर ड्रेस लगाइ सक्नु पर्ने जानकरी दिएको छ ।
एक महिनाभित्र सबै ट्याक्सी ड्राईभरले ज्याकेट नलगाए कारवाही गरिने वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी दिएका छन ।
उनले ज्याकेटले व्यवसाय र व्यवसायीलाई अनुशासित बनाउनुको साथै यात्रुलाई पनि सुविधा पुग्ने बताएका छन ।
यात्रुलाईलाई दुव्यर्वहार गरिएको पाइएमा ट्याक्सीभित्र राखिएको नम्बरका आधारमा ट्रेस गरि त्यस्ता चालकलाई कारवाहीको दायरामा ल्याइने उनले बताए ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अनिवार्य रुपमा ड्रेसलगायत पेशागत मर्यादा र अनुशासन देखाउन ट्याक्सी चालकहरुलाई निर्देशन दिए ।
उनले पूर्वाधार, उपयुक्त पार्किङ्ग स्थल र मिटर उपलब्ध गराउन पनि सरोकारवालाहरुसँग माग गरे । माग अनुसारको मिटर उपलब्ध नगराई ट्याक्सी चालकमाथि कारबाही गरिएको भन्दै त्यसो नगर्न आग्रह समेत गरेका छन ।