काठमाडौँ, ५ भदौ– काठमाडौँ महानगरपालिकाले महानगरका वडामा रहेका खुल्ला सार्वजनिक स्थानको पहिचान र संरक्षणको कामलाई अघि बढाएको छ ।
३२ वडा रहेको कामपामा हालसम्मा वडा नं ३, २९ र ६ मा रहेको सार्वजनिक जग्गाको पहिचान भइसकेको छ । वडा नं ३ मा १५ रोपनी, ६ मा १० रोपनी र २९ मा ९ रोपनी सार्वजनिक जग्गाको पहिचान भएको कामपा भौतिक पूर्वाधार महाशाखाका प्रमुख इञ्जिनीयर रामबहादुर थापाले दिए । उनका अनुसार तीन वडाका जग्गालाई संरक्षण र सबैको पहुँचमा ल्याउन बगैचा निर्माणको लागि डिजाइनको काम भइसकेको छ । अन्य वडाको जग्गा पहिचान गर्न तीन महिनाअघि कामपाका प्रमुख विद्यासुन्दर शाक्यले वडा अध्यक्षलाई निर्देशन दिएका थिए।
थापाका अनुसार कामपाको सबै वडामा खुल्ला सार्वजनिक जग्गाको पहिचान गरी प्रयोगमा ल्याइने कामपाको योजना छ । कामपाले चालु आर्थिक वर्षमा सार्वजनिक जग्गा पहिचान र संरक्षण गर्न रु तीन करोड विनियोजन गरेको छ । यसअघि केही सार्वजनिक जग्गामा व्यक्तिगत व्यवसाय सञ्चालन हुँदै आएको थियो । कतै टहरा बनाएर नागरिकले जीवन गुजारिरहेका थिए । अब ती सबै सञ्चालन भइरहेका व्यवसाय र टहरा हटाइ सामूहिक प्रयोगमा ल्याइने कामपाको भनाइ छ । रासस