बुटवल, ५ भदौ– लुम्बिनी अञ्चल अस्पतालले सिकल सेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि वितरण गरेको छ । सरकारले बिरामीलाई वार्षिक रु एक लाख बराबरको खर्च उपलब्ध गराउने घोषणा गरेपछि सोअन्तर्गत नै निःशुल्क औषधि वितरण भएको लुम्बिनी अञ्चल अस्पतालका मेडिकल टेक्नोलोजिष्ट प्रवीण शाहले जानकारी दिए ।
उनले भने “स्थानीय तहको सिफारिसमा पीडित भएको प्रमाणित भएपछि औषधि उपलब्ध गराएका छौँ।” दाङ, नवलपरासी, बाँके, बर्दिया, कपिलवस्तु जिल्लाबाट सो अस्पतालमा रगत परीक्षण लगायतको सुविधा लिन बिरामी आउँछन् । थारू समुदायमा देखिने सिकल सेल एनिमियाका विरामी यस क्षेत्रमा ६ पुगेका छन् । अस्पतालका मेडिकल सुपरिटेडेण्ट डा कृष्ण खनालले बाँकी रहेको औषधि मात्रै वितरण भएको तर पर्याप्त औषधि नआएको बताएका छन्।