कंचनपुर,०५ भदौ – निर्मला पन्त हत्याका मुख्य अभियुक्तलाई बचाउन खोजिएको भन्दै महेन्द्रनगर बजार बन्द गरिएको छ । भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्ति वास्तविक अपराधी नभएको भन्दै महेन्द्रनगर बजार बन्द गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमबार निर्मलाको बलात्कारपछि हत्या गरेको अभियोगमा २६ औं दिन भीनपा १९ बागफाँटाका ४१ वर्षीय दिलीप सिंह बिष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।
बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त वास्तविक अपराधी नभएको र घटना लुकाउन खोजिएको भन्दै महेन्द्रनगर बजार बन्द गरिएको हो ।
निर्मला पन्तको बालात्कार र हत्या घटनालाई ढाकछोप गर्न मानसिक अवस्था ठीक नभएको युवकलाई अपराधी बनाएर प्रहरीले सार्वजनिक गरेको आरोप आन्दोलनकारीहरुको छ । आन्दोलनरत महिला अधिकारकर्मी, महेन्द्रनगर बजारका व्यापारीलगायतले बिहानैदेखि बजार बन्द गराएका छन्। उनीहरूले प्रहरी प्रशासनविरुद्ध नारावाजी गरिरहेका छन्।
आन्दोलनमा उत्रिएको समूहले यातायात समेत बन्द गराएको छ। स्कुल कलेजका विद्यार्थी समेत आन्दोलनमा उत्रिएका छन्। यता अधिकारकर्मीहरूले प्रशासनअघि रिले अनशन समेत यथावत राखेका छन् । स्थानीय व्यापारी लगायत सबै आन्दोलनमा उत्रिएपछि बजारको अवस्था तनावग्रस्त बनेको छ।