काठमाण्डौ,०५ भदौ – प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई दिइएको प्रसिद्ध प्रवल जनसेवाश्री विभूषण खोसीएको छ ।
सरकारले गणतन्त्र दिवस २०७४ को अवसरमा घोषणा भएको विभूषणहरुमा यादवसँगै ८ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री दिइने उल्लेख थियो । १४ साउन २०७५ मा बसेको मन्त्रिपरिषद् बैठकले विभूषण पाउनेहरुको नाम र क्रम संशोधन गरेको छ ।
गृह मन्त्रालयको प्रस्तावमा यो संशोधन भएको हो । आफ्नो प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि गृह मन्त्रालयले २९ साउनमा विभूषण पाउनेहरुको सूची सार्वजनिक गरेको छ । तर, त्यसमा प्रमुख निर्वाचन आयुक्तको नाम छैन ।
प्रसिद्ध प्रवल जनसेवाश्री पाउनेहरुमा ७ जनाको मात्र नाम छ । जबकि घोषणा हुँदा प्रमुख निर्वाचन आयुक्त यादवको नाम ८ जना थिए र यादवको नाम पाँचौं नम्बरमा थियो ।
घोषणा हुँदा नाम भएको तर, अहिले काटिएकोबारे आफूलाई कुनै जानकारी नभएको यादवले बताएका छन।