‘चङ्गा चेट’को पहिलो गीत सार्वजनिक गर्दै रिलिज मिति घोषणा (भिडियो सहित)

काठमाडौं, ५ भदौ । फिल्म ‘चङ्गा चेट’को पहिलो गीत सार्वजनिक भएको छ । गत सोमबार राजधानीमा एक विशेष कार्यक्रम राख्दै फिल्मको पहिलो गीत र चलचित्र प्रदर्शन मिति सार्वजनिक गरिएको हो । यस अघि भदौ २२ गते प्रदर्शन हुने भनिएको यो फिल्म अब कार्तिक १६ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

त्यस्तै कार्यक्रममा फिल्ममा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीत सार्वजनिक गरिएको थियो । उक्त गीतमा राजनराज सिवाकोटी, मेलिना राई र गृष्मा सिवाकोटीको स्वर रहेको छ भने गीतमा राजराज सिवाकोटीको सङ्गीत रहेको छ । गीतको शब्द हरिहर तिमल्सिना लेखेका हुन् भने भिडियोको कोरियोग्राफी प्रविन सिंहले गरेका हुन् ।

सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरू प्रियंका कार्की, आयुष्मान देशराज, सन्दीप श्रेत्री, सुरक्षा पन्त, रविन्द्र झा र परमिता राणाको नृत्य रहेको छ ।

माधव वाग्ले र शर्मिला पाण्डेको संयुक्त लगानी रहेको फिल्म ‘चङ्गा चेट’लाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । निर्देशक खनालको अनुसार यो सिनेमा डार्क कमेडी फिलम हो । आफूले दर्शकको हँसाउनको लागी मात्र भएभरको कमेडीको प्रयोग नगरेको उनी दाबी गरेका छन् ।

फिल्ममा प्रियंका, आयुष्मान, परमिता, रविन्द्र, सुरक्षाको साथमा अर्पण थापा, शिशिर बंगडेल, सरिता गिरी, पुष्कर गुरुङ, बेनिशा हमाल लगायतका कलाकारको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published.