काठमाडौँ, ५ भदौ । आँखाको स्वास्थ्य नीति छिटो ल्याइनुपर्नेमा जोड दिइएको छ । दक्षिण एशियाली राष्ट्रमध्येमा नै नेपालमा आँखाको उपचार राम्रो हुने भएकाले आँखा स्वास्थ्य नीति ल्याई स्वास्थ्य पर्यटन–प्रवद्र्धन गर्न सकिनेमा जोड दिइएको हो ।
स्वास्थ्य मन्त्रालयले आँखासम्बन्धी स्वास्थ्य नीति मस्यौदा गरिरहेको जनाइएको छ । ग्रामीण स्वास्थ्य शिक्षा तथा सेवा केन्द्रलाई आँखा उपचारका सामग्री हस्तान्तरण गर्न आज गोकर्णेश्वर नगरपालिकाको दक्षिण ढोकामा आयोजना गरिएको कार्यक्रमका वक्ताले यस विषयमा जोड दिएका हुन् ।
कार्यक्रममा सांसद कृष्ण राईले धुलो प्रदूषणलगायत समस्याका कारण मोतियाबिन्दुका रोगी बढ्ने गरेको बताउनुभयो । प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले नेपालको आँखा उपचार पद्धतिले स्वास्थ्य पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना बोकेकाले त्यसै अनुसारको नीति बन्नुपर्ने विचार राख्नुभयो ।
पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले आँखा उपचारका लागिा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको समेत सहयोग रहेको बताउनुभयो । नेपालका लागि जापानी राजदूत मासामिची साइगोले आँखा स्वास्थ्यका लागि जापान सरकारका तर्फबाट रु ९६ लाख बराबरको उपकरण सहयोग गरिएको र भावी दिनमा पनि यस्तो सहयोग जारी रहने जानकारी दिए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका–७ का अध्यक्ष केशव गुरुङ, केन्द्रमा ३२ वर्षसम्म नर्सका रुपमा सेवा गर्नुभएकी जापानी नागरिक मासाको यामानी, नेपाल–जापान मानव विकास संघका रियो सिके, केन्द्रका अध्यक्ष बालप्रसाद शाही तथा सदस्य पासाङदोर्जे शेर्पाले आँखा उपचार र मोतियाबिन्दु शल्यक्रियाको अवस्थाका बारेमा बोलेका थिए ।
विसं २०४३ देखि स्वास्थ्य सेवा शुरु गरिएको केन्द्रले गत वैशाखदेखि आँखाको उपचारसहित मोतियाबिन्दुको शल्यक्रिया सेवा दिँदै आएको छ । केन्द्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)को सम्बन्धन प्राप्त अकुपञ्चर उपचार पद्धतिको प्रमाणपत्र तहका अध्यापन पनि हुने गर्दछ ।