धनगढी, ४ भदौ– प्रदेश नं ७ को अस्थायी राजधानी धनगढीमा ट्राफिक समस्या बढ्दै गएको छ । समस्या बढ्दै गएपछि धनगढी उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको संयुक्त पहलमा ट्राफिक व्यवस्थापनसम्बन्धी नयाँ योजनाका साथ काम गर्न शुरु गरिएको हो। जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक अनीलकुमार उप्रेतीले बजारको मुख्य सडकमा भीडभाडको समयमा ठूला सवारी साधन आवागमनमा रोक लगाइने बताएका छन् ।
धनगढी उपमहानगरपालिका र ट्राफिक प्रहरीको पहलमा मुख्य सडकका तीन ठाउँमा निःशुल्क ‘पार्किङ स्थल’को व्यवस्था गरिएको छ । “केही ठाउँमा पार्किङ स्थलका लागि पहल भइरहेको छ,” उप्रतीले भने । धनगढीको चौराहास्थित ट्राफिक चोकमा पहिलोपटक आधुनिक ‘ट्राफिक आई लेण्ड’ स्थापना गरिएको छ । यात्रुको आवागमन सहज बनाउन ठाउँठाउँमा ‘जेब्रा क्रसिङ’ बनाउने, बजारमा चलिरहेका विद्युतीय रिक्साको सञ्चालनको उचित व्यवस्थापन गर्ने लगायतका योजना बनाइएको छ । “दुई महिनायता बजारमा दुर्घटनामा कमी आएको छ,” उप्रेतीले भने।
धनगढीको मुख्य सडकमा विद्युतीय रिक्साको चापसँगै ट्राफिक व्यवस्थानको चुनौती बढेको छ । धनगढीमा झण्डै एक हजार ५ सय विद्युतीय रिक्सा सञ्चालनमा छन् । अस्थायी राजधानी तोकेपछि सवारी साधन तथा जनसङ्ख्या थपिएपछि समस्या बढेको हो । धनगढीको ट्राफिक चोकदेखि क्याम्पस रोडसम्मको झण्डै चार किलोमिटर क्षेत्रमा बढी समस्या भएको छ । बजार क्षेत्रमा सडक मिचेर घर पर्खाल निर्माण गर्ने क्रम बढेको छ । सडक साँघुरो हुँदै गएपछि ट्राफिक समस्या बढेको हो । रासस