केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संसद्मा छलफल

काठमाडौँ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि संसद्मा सैद्धान्तिक छलफल सुरु भएको छ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

विभिन्न ७९ कानुनलाई संशोधन गर्नेगरी तयार पारिएको यो विधेयक गत वैशाख २६ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । प्रचलित नेपाल ऐनमा समसामयिक सुधार गर्नका लागि सुधार गर्न केही नेपाल ऐनलाई संशोधन गर्न आवश्यक रहेको उल्लेख गर्दै कानुनमन्त्री गुरुङले यो विधेयक संसद्मा दर्ता गराउनुभएको थियो ।

उक्त विधेयक माथिको छलफलमा भाग लिनुहुँदै सांसद रमेश लेखकले मुलुकी फौजदारी कार्यविधिसंहिता संशोधनका लागि विधेयकमा राखिएका विषय थयास्थितिमा पारित गर्न नहुने त्यसमा थप छलफल तथा संशोधन गरी विधेयक अघि बढाउनुपर्ने बताउनुभयो ।

सांसद डा अमरेशकुमार सिंहले केही नेपाल संशोधन ऐनमार्फत् धेरै कानुन संशोधनका लागि ल्याउन नहुने बताउनुभयो ।

सांसद महेश बर्ताैलाले पनि एकैपटक धेरै विषय एउटै विधेयकमा राखेर संशोधन गर्दा कानुन निर्माणका सबै पक्षमा ध्यान पुग्न नसक्ने भएकाले छुट्टाछट्टै विधेयकका रुपमा ल्याइनुपर्ने बताउनुभयो । विधेयक पारित गर्दा सांसदहरुको सहभागिताको विषयलाई पनि ख्याल गर्नुपर्ने उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published.