जलविद्युत् आयोजना अलपत्रमा

पर्वत,३ भदौ – जिल्लाका दुर्गम भेगमा रहेका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघु जलविद्युत् आयोजना अहिले अलपत्र छन् ।

विगत दुई दशकअघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका एघार आयोजना अहिले पूर्णरूपमा बन्द भएका हुन् । तीन वर्ष अघिसम्म तीन वटा मात्र आयोजना सञ्चालनमा रहेकामा अहिले केन्द्रीय प्रसारण लाइन विस्तार भएसँगै ती पनि बन्द भएका छन् । पछिल्ला केही वर्षयता सामुदायिक विद्युतीकरणमार्फत स्थानीय तहका सबै वडामा केन्द्रीय प्रसारण लाइन विस्तार भएको थियो ।

दक्षिण पर्वतको सरौखोलामा रहेको १२ किलोवाट क्षमताको अगुवाखोला, पाङराङको साढे ७ किलोवाट क्षमताको गढीसिद्ध र ११ किलोवाटको बाच्छाखोला, हुवासमा रहेको १२ किलोवाट क्षमताको गेडीखोला, भोर्ले गाविसमा रहेको १६ किलोवाट क्षमताको धुवाकोट, क्याङ गाविसमा सञ्चालित १६ किलोवाट क्षमताको घट्टेखोला लघु जलविद्युत् आयोजना पूर्णरूपमा बन्द छन् । त्यस्तै बाच्छा गाविसको बाच्छाखोलामा रहेका १९ र २१ किलोवाटको बाच्छाखोला लघु जलविद्युत् आयोजनाले पनि उत्पादन गर्न छाडेका छन् ।

यस्तै मोदी गाउँपालिका–१ भुकताङ्गलेमा रहेको २७ किलोवाट क्षमताको ठाडोखोला लघु जलविद्युत् आयोजना पनि दुई वर्षअघि आएको पहिरोले पुरिएपछि अलपत्र छ भने महाशिला गाउँपालिका–२ भोक्सिङको ६ किलोवाट क्षमताको छहरेखोला र नौ किलोवाट क्षमताको छर्छरेखोला लघु जलविद्युत् आयोजना पनि दुई वर्षअघि गाउँमा केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि त्यत्तिकै थन्किएका छन् । मर्मतका लागि बजेट अभाव र मर्मत गरेपछि पनि लामो समयसम्म काम गर्न छाडेपछि स्थानीयवासीले मर्मतमा बेवास्ता गरेका छन् । स्थानीयवासीको सक्रियता कम हुँदा केन्द्रीय लाइनसँगै गाउँमा सञ्चालित आयोजना बन्द हुदै गएको बाच्छाका भीमबहादुर खड्काले बताएका छन् ।

जिल्लाका ११ लघु जलविद्युत् आयोजनाबाट १५६.५ किलोवाट विद्युत् उत्पादन भएको र त्यसबाट एक हजार ४सय३ घरधुरीका नौँ हजार बासिन्दा लाभान्वित भएका थिए । विसं २०५५ देखि सञ्चालनमा रहेका यी आयोजना अहिले भग्नावशेष बनेका छन् । ती एघार आयोजनाका लागि रु दुई करोड २५ लाख खर्चिए पनि केन्द्रीय प्रसारण, उपभोक्ताको बेवास्ता र मर्मत अभावले लोप हुने अवस्थामा पुगेका हुन् ।रासस

Leave a Reply

Your email address will not be published.