म्याग्दी,०३ भदौ – एक स्थानीय तहका अध्यक्षले आफूले पाएको सुविधा सामाजिक काममा लगानी गर्ने गरेका छन ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राज्यले जनप्रतिनिधिको तलबका रुपमा उपलब्ध गराएको रकम गरिब, विपन्न र अनाथ बालबालिकाको शिक्षामा परिचालन गर्ने भएका हुन ।
भण्डारीले राज्यले जनप्रतिनिधिको तलबका रुपमा दिएको रकम गरिब, विपन्न र अनाथ बालबालिकाको शिक्षामा परिचालन गर्ने उद्देश्यले कोष स्थापना गरेका छन ।
गाउँ कार्यपालिकाको बैठकबाट परिवारका सदस्यको हक नलाग्ने गरी कोष स्थापना गर्ने निर्णय गराएका भण्डारीले १३ महिनाको सुविधाबापत पाएको रकम कोषमा जम्मा गरिसकेको बताएका छन ।
‘म पदमा रहँदासम्म सरकारले उपलब्ध गराउने रकम यही कोषमा जम्मा गरेर गाउँपालिकाको ८ वटै वडाका गरीब, विपन्न र अनाथ बालबालिकाको शिक्षाका लागि सहयोग गर्ने निर्णय गरेको छु।’, अध्यक्ष भण्डारीले भने, ‘विकट र दुर्गम क्षेत्रका विपन्न बालबालिकाको शिक्षामा पहुँच वृद्धिका लागि सहयोग पुग्ने अपेक्षा गरेको छु।’
गण्डकी प्रदेश सरकारले गाउँपालिकाको अध्यक्षका लागि मासिक ३० हजार रुपैयाँ तलब तोकेको छ। पहिलो वर्षको करीब ४ लाख रुपैयाँ कोषमा जम्मा गरिसकेको पनि भण्डारी जानकारी दिएका छन। पाँच वर्षको अवधिमा करीब २५ लाख रुपैयाँ कोषमा जम्मा हुने उनले जनएका छन ।