रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अष्ट्रियाकी विदेशमन्त्री ‘करिन क्नेइस्ल’को १८ अगस्तको वैवाहिक समारोहमा उपस्थित हुन गएका छन् । कुनै शक्तिशाली देशको राष्ट्रप्रमुख अर्को देशको मन्त्रीको वैवाहिक समारोहमा उपस्थित हुनु युरोपियन कुटनीतिमा नयाँ प्रयोग भएको मानिएको छ ।
अष्ट्रियाकी विदेशमन्त्री करिन क्नेइस्लको विवाह एक अरबपति व्यापारी वोल्फङग मेईलिंगेरसँग भियानामा विवाह भएको समयमा पुटिन ‘नर्ड स्ट्रिम-२” अर्थात रुसको युरोपमा ग्यास पुर्याउने उत्तरी रुटको बारेमा जर्मन चान्सलर एन्जेला मर्केलसँग छलफल गर्न बर्लिन पुगेका थिए, त्यही बेलामा पुटिनलाई विवाहको निम्तो आएको थियो । पुटिनले विवाहको निम्तोलाई युरोपमा आफ्नो कुटनीतिक प्रभाव छोड्ने माध्यम बनाए ।
पुटिनले उक्त वैवाहिक समारोहलाई मनोरन्जन प्रदान गर्न प्रख्यात ‘कुबान कोस्याक’ को पूरा सांगीतिक टीम नै ल्याएका थिए । उनले ल्याएको फूलको बुके अष्ट्रियन विदेशमन्त्रीको हातमा दिँदै वैवाहिक जीवनको शुभकामना दिएपछि मर्केलसँगको छलफललाई निरन्तरता दिन बर्लिन फर्केका थिए ।
हेलिकप्टरमा आउने आशा गरिएता पनि पुटिन विशेष सुरक्षा व्यवस्था गरिएको कारमै वैवाहिक समारोहस्थानमा पुगेका थिए । समारोह भियनाबाट केही टाढा ‘स्ट्रिया’ भन्ने मनोरम स्थानमा आयोजना गरिएको थियो । पुटिनलाई विमानस्थलदेखि समारोहस्थलसम्म अष्ट्रियाकी पूर्व प्रथम महिला तथा रुसका लागि अष्ट्रियन राजदूतले लगेकी थिइन् ।
रूसी राष्ट्रपतिको उक्त समारोहमा भएको उपस्थितिलाई लिएर ब्रिटिश समाचार ‘द गार्जियन’ले रुसको युक्रेन नीतिमाथि इयुको अडान कमजोर भएको भनी टिप्पणी गरेको छ ।