काठमाडौँ, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी प्रतिनिधि सभा सदस्यबाट पनि निलम्बित भएका छन् ।
सोमबार उनलाई सांसदबाट निलम्बन गरिएको जानकारी सभामुख देवराज घिमिरले संसद बैठकमा पढेर सुनाएका थिए ।
प्रहरीले रायमाझीलाई गएराति बुढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको थियो । पक्राउ गरेको सूचना संसद् सचिवालयमा पुगेपछि रायमाझी सांसदबाट पनि निलम्बनमा परेका हुन् ।
यसअघि वैशाख २७ गते नेकपा (एमाले)ले पार्टी सचिवबाट पनि निलम्बन गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएकाले अनुसन्धानमा सघाउ पुगोस् भनेर सचिवबाट निलम्बन गरेको एमालेले बताएको थियो ।
प्रकरणमा टोपबहादुर रायमाझीका छोरा सन्दीप पनि पक्राउ परेका छन् । टोपबहादुरलाई म्याद थपका लागि आजै अदालतमा उपस्थित गराइएको थियो ।