नेपाल र यूएईबीचको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल सुरु भएको छ ।
यो खेलमा नेपाल बलियो अवस्थामा छ । खेल हिजो जुन अवस्थामा पुगेर रोकिएको थियो, आज त्यहीँबाट सुरु भएको हो।
कीर्तिपुर मैदानमा खेल रोकिनुअघि पहिला ब्याटिङ गरिरहेको यूएई २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रनको सामान्य अवस्थामा छ । नेपाली स्पिनर ललित नारायण राजवंशी ह्याट्रिक विकेटको नजिक छन् । आज पनि पानी पर्ने पूर्वानुमान गरिएको छ । वर्षाले खेल रोकिएमा ओभर घटाएर खेलाइनेछ ।
ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर खेलाइनेछ । सुपर ओभर पनि हुन नसक्ने अवस्थामा भने एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको आधारमा नेपाल विजेता हुनेछ र आउँदो सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ । एकदिवसीय वरीयतामा नेपाल १४औँ तथा यूएई १९ औँ नम्बरमा छ।
आजको खेलमा दर्शकलाई निस्शुल्क प्रवेश गराउने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।
हिजोको खेलमा साधारण टिकट २ सय रुपैयाँ राखिएको थियो । तर वर्षाको कारण फाइनल खेल पूरा हुन नसकेपछि आजका लागि सरेको हो । ‘रिजर्भ डे’ का रुपमा खेल सारिएपछि दर्शकलाई प्रवेश निःशुल्क गरिएको हो ।