गोरखा । जिल्ला अस्पतालको फार्मेसीमा आवश्यक औषधि नभएको बिरामीले गुनासो गरेका छन् । अस्पतालले आफैँ फार्मेसी सेवा सञ्चालन गरे पनि निःशुल्क औषधिसमेत बाहिरबाट किन्नुपरेको बिरामीका आफन्तको भनाइ छ ।
म तीन महिनादेखि बुबाको चेकजाँचका लागि निरन्तर आइरहेको छु, अस्पताल परिसरमा भेटिएका हर्क रानाले भन्नुभयो, निशुल्क औषधि पनि बाहिर किनेर लैजानु परेको छ, भित्र पाइँदैन । ८१ प्रकारका औषधि निःशुल्क उपलब्ध गराएको अस्पतालले दाबी गरे पनि एमोक्ससिलिन जस्ता सर्वसुलभ औषधि त्यहाँको फार्मेसीमा छैन ।
देशभरका स्वास्थ्य संस्थामा निःशुल्क भनिएको उक्त औषधि जिल्ला अस्पताल गोरखामा विगत २ महिनायता नभएको अस्पताल स्रोतले बताएको छ । सामान्य समस्या ज्वरो, रुघाखोकीका बिरामीले पनि अस्पतालबाट औषधि पाएका छैनन् । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।