कलङ्कीको अन्डरपास संचालनमा ल्याउने नयाँ मिति तोक्यो सडक विभागले

काठमाडौँ, भदौ १ – भदौ एक गतेदेखि चल्ने भनिएको कलङ्कीको अन्डरपास संचालनमा आउन अझै एक हप्ता लाग्ने सडक विभागले बताएको छ । विभागका प्रवक्ता मुक्ति गौतमले जनदिशासँग छोटो कुरा गर्दै कलङ्कीको अन्डरपास एक हप्ता भित्र खुल्ने बताएका हुन् ।

चिनियाँ सहयोगमा निर्माण भएको कलङ्कीको अन्डरपास सुरक्षाको परीक्षण गर्न केही दिन बढी लाग्ने भएकोले भदौ एक गते देखि संचालनमा आउन नसकेको गौतमको दावी थियो । चिनियाँ कम्पनीले सवारी सुरक्षाको पूर्ण तयारी नभइकन अन्डरपास संचालनमा ल्याउन दिएको छैन । सम्पूर्ण सुरक्षा परीक्षण एक हप्ताभित्र सकेपछि अन्डरपास संचालनमा आउनेछ ।

कलङ्कीको अन्डरपास संचालनमा आइसकेपछि करीब ८० देखि ९० प्रतिशतसम्म ‘ट्राफिक जाम’ कम हुने सडक विभागको आंकलन छ । ‘गोंगबुबाट थानकोट हुँदै बाहिरिने र भित्रिने लामो दूरीका बस र ट्रक लगायतका सवारी साधन र सातदोबाटो हुँदै थानकोट र त्रिपुरेश्वर आउने जाने सवारीसाधनको हकमा मात्र ट्राफिक व्यवस्थापन गर्नुपर्ने हुन्छ । अन्यथा अहिलेको जाम कायम रहँदैन’ गौतमले जनदिशालाई जानकारी दिए ।

नागढ़ुंगा-कलङ्की बाटो ४ महिनामा बनिसक्ने

सडक विभागले मुआब्जा र अन्य कानुनी प्रक्रियाको काम सकिसकेको हुनाले ४ महिनाभित्र नागढ़ुंगा-कलङ्की बाटो निर्माण भैसक्ने विभागले बताएको छ । निर्माणाधीन उक्त बाटोमा धुलो, धुँवा र सवारी दुर्घटनाले हजारौं जनता पीडित छन् ।

Leave a Reply

Your email address will not be published.