रिपब्लिकन पार्टीकी साउथ क्यारोलिनाकी पूर्व गभर्नर निक्की हेलीले २०२४ मा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनमा उम्मेदवार बन्ने औपचारिक घोषणा गरेकी छिन् ।
सोही पार्टीका तर्फबाट करिब तीन महिना अघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उम्मेदवार हुने औपचारिक घोषणा गरिसकेका छन् । मंगलबार आयोजित कार्यक्रममा ५१ वर्षीया हेलीले वाशिंटन बारम्वार अनुत्तीर्ण भइरहेको बताइन् ।
उनले भनिन्, ‘‘यो नयाँ पुस्ताको नेतृत्व लिने समय हो । आर्थिक उत्तरदायित्वको पुन खोजी, सीमाको सुरक्षा, देशलाई गर्विलो र सबल बनाउने कुरामा जोड दिन दिनुपर्छ ।’’
हेलीको खास नाम निम्रता निक्की रान्धवा हेली हो । हेली भारतीय सिख सम्प्रदायका अजित सिंह रान्धवा र राजकौर रान्धवाकी पुत्री हुन् । उनको जन्म साउथ क्यारोलिनमा भएको हो र उनले २४ वर्षको उमेरमा माइकल हेलीसँग विवाह गरेकी हुन् । र, लगत्तै उनले क्रिष्चियन धर्म आँगालेकी हुन् ।
हेलीले साउथ क्यारोलिनाको क्लिम्सन कलेजबाट स्नातकोत्तर गरेकी छिन् । । सन् २००४ देखि राजनीतिमा पाइला टेकेकी हेलीले सन् २०१७ मा संयुक्त राष्ट्र संघको राजदूत पद पनि सम्हालीसकेकी छिन् ।
सन् २०१० मा गभर्नर निर्वाचित हुँदा उनी अमेरिकाको इतिहासमा नै सबैभन्दा कम उमेरकी गभर्नर बनेकी थिइन् । नागरिक अधिकारका लागि संघर्षरत हेलीसँग विभिन्न वाणिज्य संघहरुमा रहेर काम गरेको लामो अनुभव छ ।
यो घोषणाको केही समयपछि नै फ्लोरिडाका गभर्नर डि सान्टिस र पूर्व उपराष्ट्रपति माइक पेन्स, परराष्ट्र मन्त्री माइक पम्पेओले पनि उम्मेदवार घोषणा गर्ने चर्चा चुलिएको छ । यी सबैजनाको उम्मेदवारीले ट्रम्पलाई फाइदा पुग्ने बताइएको छ ।