- योगेश खपाङ्गी
गत मंगलबार धेरैपछि बहुमुखी प्रतिभाका धनी रेशम चौधरीसँग डिल्लीबजार कारगार पुगेर भेट गरें । यसबीच उनले ‘धरातल’ नामक कथा संग्रह तयार गरिसके छन् । यसअघि नै उनका ‘टीकापुर घटनाको चिरफार’, ‘बँधुवा कमारो’, ‘परिबन्ध’, ‘देविसरा’ र अंग्रेजीमा ‘एक्साइल टु प्रिजन’ लगायतका आठ वटा कृतिहरु बजारमा आइसकेका छन् ।

त्यसमध्ये ‘टीकापुर घटनाको चिरफार’ बाहेक अरु सबै किताब उनले डिल्लीबजार कारागारमै लेखेका हुन् । म आफू ग्राफिक डिजाइनर पनि भएकाले उनका सबै पुस्तकको आवरण पनि मैले नै बनाएको हो । यसक्रममा म उनलाई भेट्न कयौं पटक डिल्लीबजार कारागार पुगेको छु । हालसालै लेखिसकेको कथासंग्रह ‘धरातल’का लागि प्रकाशक÷बितरक खोज्ने र कभर बनाउने जिम्मेवारी पनि उनले दिए ।
यसबीच उनले धेरै पहिला लेखन, गायन, संगीत गरेको ‘नौ तले धरहरा’ नामक गीत टिकटकमा हाल भाइरल भएको उनलाई कसैले भनेकै रहेनछ । करिब एक घन्टाको बातचितमा उनीसँग सन्चोबिसन्चो, साथीसंगीका कुरा भए । साथसाथै ताजा राजनीतिक घटनाक्रमबारे कुराकानी गरियो । यस दौरानमा डिल्लिबजार कारागारका जेलर पनि फेरिइसकेछन् । राजनीतिक टिप्पणीका कुराहरुलाई चाहिँ प्रकाशित नगरिदिन उनले अनुरोध गर्दै भने – ‘ तपाईं त एउटा पत्रकार पनि हो । भएका सबै कुरा नलेखिदिनुस् है, यहाँ मलाई जेलरले अप्ठ्यारो पार्छन् ।’
विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा संलग्न भएको अभियोगमा जेल सजाय भोगिरहेका रेशमलाई यसअघि सरकारी समाचार सेवा प्रदायक संस्था राष्ट्रिय समाचार समिति (रासस) का दुई पत्रकार उनलाई भेट्न गएका रहेछन् । कुराकानी भएछ । उनीहरुले त्यो सम्वादलाई प्रकाशन चाहिँ नगर्ने बचन दिएका रहेछन् । तर त्यसका विपरित उनीहरुले राससमा प्रकाशन गरेपछि कारागारका जेलरले उनलाई केरकारसमेत गरेछन् ।
उनी भन्छन् –‘यो कारागारमा १९ देशका नागरिक छन् । यहाँ नेपालको कानुन लाग्दैन । यहाँ त जेलर नै राजा हुन् । उनकै कानुन चल्छ । उनको अनुमति बेगर कुनै पत्रकारसँग कुरा गर्न मिले पनि प्रकाशन गरिदिएमा मलाई अप्ठ्यारो पर्नसक्छ ।’
उनले अगाडि भने –‘के थाहा भोली साथीभाई, आफन्तलाई भेट्न नै पो बन्द गर्देलान कि !’
यति भनिसकेपछि उनीसँग भएका कुराहरु पनि उनलाई अप्ठ्यारो पर्ला भनेर नलेख्ने निर्णय गरेँ । तर, यसो भन्दैमा उनका बारेमा कलम नै बन्द गराउने हक कसैले छिन्न सक्दैन ।
उनी परिवर्तनका पक्षमा उभिएका एक राजनीतिक बन्दी हुन् । तर, उनलाई डिल्लीबजार कारागारले राजनीतिक बन्दी सरहको व्यवहार गरेको छैन भन्ने बुझियो ।
यसअघिका जेलरसँग मेरो निकै लामो बहस परेको थियो । ती ठिटो जेलरले रेशमजीलाई कुनै किताब मगाउन रोक लगाएका रहेछन् । ती जेलरलाई पूर्वप्रधानमन्त्री बीपीदेखि पूर्वमन्त्री मोदनाथ प्रश्रितलेसमेत जेलमै पढेका र थुप्रै पुस्तकहरु लेखेको उदाहरण मैले दिएँ । तर उनले जेलकै पुस्तकालयमा प्रसस्त किताब भएकाले बाहिरबाट ल्याउन नदिएको भनाइ राखे । त्यसमा पनि मैले ‘एउटा कैदीकोसमेत पढ्ने–लेख्ने अधिकार हुन्छ । यो त सरासर मानव अधिकारको हनन भयो’ भनेपछि उनले ‘मिस अन्डस्ट्यान्डिङ भएको रहेछ सर’ भन्दै आइन्दा चाहेको पुस्तक पढ्न दिने बचनबद्धता व्यक्त गरे ।
नभन्दै त्यसपछिका दिनमा रेशमलाई बजारमा निस्किएका नयाँ किताब मगाउने छुट दिएछन् । मैले चिनेका रेशम वास्तवमा अथक कम्युनिस्ट लडाकू हुन् । उनी प्रतिभाका खानी नै हुन् । उनी गीत लेख्छन्, गाउँछन्, संगीत गर्छन् अनि अभिनय र निर्देशन पनि गर्छन् । उनी कराँतेका ‘फोर डान’ हुन् । राजनीति र लेखनमा पनि उनी उत्तिकै दख्खल राख्छन् ।
विगतमा उनी सम्बद्ध मधेश केन्द्रीत दलले जहिले पनि उनलाई धोका नै दिएको हो । त्यसैले गत निर्वाचनको मुखैमा श्रीमती रञ्जिता श्रेष्ठको संयोजकत्वमा ‘नागरिक उन्मुक्ति पार्टी’ खोले ।
यसअघि पनि उनले कैलालीबाट सांसद जितेका थिए । उनको पार्टीले हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सङ्घमा प्रत्यक्षतर्फ तीन सिट र प्रदेशमा आठ सिट जित्यो । पार्टीले समानुपातिकतर्फ ‘थ्रेस होल्ड’ कटाउन नसके पनि प्रदेश र संघको सरकार बनाउने सवालमा यो पार्टीको भूमिका निर्णायक बनेको छ ।
गत मङ्सिर ४ गते भएको निर्वाचनमा उनकी पत्नी एवं पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ कैलाली निर्वाचन क्षेत्र नं १ बाट ३० हजार चार सय चार मतसहित निर्वाचित भएकी छिन् भने उनका बुवाले पनि यसै पटक सोही पार्टीबाट चुनाव जितेका छन् ।
हाल सुदूरपश्चिम प्रदेशमा रेशमको पार्टीकै कारण एमाले प्रमुख रहेको सरकार गठनमा ढिलाई भइरहेको छ । प्रचण्ड नेतृत्वको केन्द्रीय सरकारलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टी सरकारमा गएन । रेशमको रिहाइलाई ‘बटमलाइन’ बनाएको उक्त पार्टीलाई प्रधानमन्त्री प्रचण्डले सरकारमा ल्याउन भरमग्दुर प्रयत्न पनि गरिरहेका छन् ।
सम्भवतः सबै पार्टीको सहमतिमै उनलाई राष्ट्रपति मार्फत आममाफी दिलाई रिहा गरिन्छ । त्यसपछि उनको पार्टी सरकारमा त जाला नै, त्यसपछि विचार मिल्ने राजनीतिक पार्टीहरुसँग एकता पनि गर्लान् ।
मसँगको कुराकानीमा रेशमले पार्टी सानो–ठूलो भन्दा पनि मुख्यतः विचारको कुरा भएको बताए। पहिचान विरोधी पार्टीसँग पक्कै एकता गरिंदैन तर विचार मिल्ने पार्टीबाट प्रस्ताव आए सोच्न सकिने रेशम चौधरीले संकेत गरे । उनले भने, अलग्गै पार्टीको दोकान लगाउने मेरो रहर होइन ।
सिद्धान्तमा दृढ र व्यवहारमा असाध्यै लचक यी अथक योद्धालाई हरेक पटक भेट्दा ‘रिफ्रेस’ हुन्छ । नयाँ आशा, विश्वास र संघर्ष गर्ने उत्प्रेरणा बढ्छ । स्पष्ट राजनीतिक ‘अजेण्डा’ बोकेका, उत्पीडित, उपेक्षित नागरिकलाई उन्मुक्त नागरिक बनाउन संघर्षरत यी राजनीतिक नेता आफैँ भने लामो समयदेखि बन्दी छन् । परिवर्तनका लागि देशमा लामो समय संघर्षको नेतृत्व गरेका प्रचण्ड प्रधानमन्त्री छन् यतिबेला, उनको रिहाइका लागि प्रमबाट नै जतिसक्दो छिटो पहल गर्न जरूरी छ ।