काठमाडौं, १ भदौ– सुशील ज्ञवालीले आफैले हालेको मुद्दा फिर्ता लिने भएका छन्। राष्ट्रिय पुनर्निनिर्माण प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी सम्हाने भए पछि उनले बिहीबार पदबहाली गरे र सोही दिन सर्वोच्चमा मुद्दा फिर्ताको निवेदन दिएका छन्।
केपी ओलीले २०७२ पुस १० मा नियुक्त गरेका ज्ञवालीलाई २०७३ पुस २७ मा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले हटाएको थियो। बर्खास्तमा परेका ज्ञवालीले त्यसलाई चुनौती दिँदै २०७३ माघ ३ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। उनको मुद्दामा सर्वोच्चले कारण देखाउ आदेशसमेत जारी गरेको थियो।
उनको मुद्दा आज पेसी चढाइएको छ। कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र बमकुमार श्रेष्ठको इजलासमा पेसी तोकिएको छ। प्राधिकरणलाई गति दिन नसकेको आरोप लगाउँदै अघिल्लो सरकारको बर्खास्तीमा परेका ज्ञवाली सर्वोच्च अदालतमा दायर गरेको मुद्दालाई विचाराधीन राख्दै प्राधीकरण प्रवेश गरेका थिए।
उक्त मुद्दा विचाराधीन रहकै अवस्थामा उनलाई सरकारले दोस्रो पटक प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त गरेको थियो। आफैले विपक्षी बनाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मार्फत उनी प्राधिकरणमा मुद्दा कायमै राखेर प्रवेश गरेका थिए। उनले प्राधिकरणलाई पनि विपक्षी बनाएका थिए।