स्थानीय सरकारले गर्नुपर्ने काम–कर्तव्यबारे कार्टून प्रदर्शनी

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासङ्घको तेस्रो महाधिवेशनको अवसर पारेर कार्टुन तथा चित्रकला प्रदर्शनी गरिएको छ । कमलादिथित नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको महाधिवेशनमा दुई दर्जन कार्टुनिस्टले बनाएका ५० कलाकृति राखिएको छ । महासंघले कार्टुनिस्ट क्लब अफ नेपालको सहकार्यमा गरेको प्रदर्शनीमा गाउँपालिकाले गर्नुपर्ने कार्ययोजना, विकास निर्माणसँगै त्यहाँ रहेका विकृति विसंगतिलाई चित्रण गरिएका चित्र तथा कार्टुन राखिएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले चित्र आफैंमा हजार शब्द भएको बताए । उनले कार्टुन सन्देशसहितका एउटा स्पष्ट ऐना भएको र जहाँ आफैंलाई हेरेर व्यक्ति वा संस्थाले आफूलाई सच्याउन सक्ने विचार व्यक्त गरे । उनले भने, ‘चार सय साठी वटा गाउँपालिकाले गरेका राम्रा काम वा सुधार्नुपर्ने पक्ष मानव जीवनका विविध रङ जस्तै हुन् ।

त्यसैले त कार्टुन तथा चित्र प्रदर्शनीलाई रङ्गपालिकाको नाम दिइएको हो । यसमा मूलतः स्थानीय सरकारको कार्यक्षेत्रलाई समेटेर कार्टुन तथा चित्रमार्फत सन्देश दिने जमर्को गरिएको छ ।’ अध्यक्ष श्रेष्ठले प्रदर्शनीमा राखिएका चित्र तथा कार्टुनमा शुद्ध सन्देश र जानकारी मात्र नभइ रोचक–घोचक ठट्यौलो अनि रमाइला प्रस्तुति पनि रहेको बताए ।

कार्टुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिजले कला दृश्यभाषाको सशक्त माध्यम भएकाले सबै आमजनले सहज ढंगले बुझ्न कार्टुन कला प्रभावकारी हुने बताए । उनले महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनको अवसर पारेर स्थानीय सरकारका कार्य र उत्तरदायित्व झल्किने कार्टुन तथा चित्रको प्रदर्शनी गरिएको सुनाए । अध्यक्ष क्षितिजले भने, ‘प्रदर्शनीमा राखिएका कलामा स्थानीय सरकारको कार्यक्षेत्रलाई समेटिएको छ ।

कार्टुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिजले कला दृश्यभाषाको सशक्त माध्यम भएकाले सबै आमजनले सहज ढंगले बुझ्न कार्टुन कला प्रभावकारी हुने बताए । उनले महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनको अवसर पारेर स्थानीय सरकारका कार्य र उत्तरदायित्व झल्किने कार्टुन तथा चित्रको प्रदर्शनी गरिएको सुनाए । अध्यक्ष क्षितिजले भने, ‘प्रदर्शनीमा राखिएका कलामा स्थानीय सरकारको कार्यक्षेत्रलाई समेटिएको छ ।

काभ्रे खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले कलामार्फत रुपान्तरणका पक्षमा व्यक्त विचार निकै गहन रहेको बताए । प्रदर्शनी अवलोकन गर्दै उनले भने, ‘कलाकारले चित्र तथा कार्टुनमार्फत दिन खोजेको सन्देश रुपान्तरण र जनताको पक्षमा छ । यसमा सरोकारी निकायले गम्भिर ढंगले सोच्नुपर्दछ र कार्यसम्पादनमा आफूलाई दरो गरी उभ्याउनु पर्दछ ।’ प्रदर्शनी अवलोकन गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रमेश खनालले कलाकारले देशको विकास र रुपान्तरणका पक्षमा सशक्त ढंगले आवाज उठाएको बताए । उनले कलाकारले चित्र तथा कार्टुनमार्फत सशक्त सन्देशसहित योजनाको खाका नै प्रस्तुत गर्न सफल भएको जिकिर गरे ।

यस्तै, भाषा आयोगका सदस्य तथा जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष मातृका पोखरेलले प्रदर्शनीमा राखिएका कार्टुन तथा चित्रले गाउँपालिका निर्माण र विकासमा गर्नुपर्ने विषयलाई सरल ढंगले प्रस्तुत गरेको बताए । उनले भने, ‘समाज निर्माणमा संस्कृति क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने पक्षलाई समेत प्रदर्शनीमार्फत उठान गरिएको छ । यो सुन्दर र रुपान्तरणकारी नेपाल निर्माणका लागि महत्वपूर्ण पाटो हो ।’

प्रदर्शनीमा अग्रज कलाकार अशोकमान सिं, जीवन राजोपाध्याय, अविन श्रेष्ठ, वासु क्षितिज, देवेन्द्र थुम्केली, रवि मिश्र, भानु भट्टराई, रविन्द्र मानन्धर, केशव राज खनाल, योगेश खपांगी, आरके थापा, दीपक गौतम, कृष्णगोपाल श्रेष्ठ, सागर शाह, सुजिता महर्जन, सानुराज डंगोल, अर्पिता शाक्य, पल्पसा डंगोल, महेश बस्ताकोटी, सुदर्शन सिग्देल, पानसिंह तमोर, रामहरि रिमाल लगायतका चित्र तथा कार्टुन राखिएको छ ।

महासंघ देशका ४ सय ६० गाउँपालिकाको छाता सङ्गठन हो । तीन दिने महाधिवेशनमा देशभरिका गाउँपालिकाबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष र हरेक जिल्लाबाट एक जना वडाअध्यक्ष वा सदस्य रहने प्रतिनिधिका रुपमा उपस्थित छन् । महाधिवेशनबाट पाँच वर्षका लागि ३७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित हुनेछन् ।

Leave a Reply

Your email address will not be published.