गुगलका कर्मचारीद्वाराआन्दोलनको चेतावनी

काठमाण्डोँ,०१ भदौ – बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलका कर्मचारीले गुगलले चीनका लागि छुट्टै सर्च इन्जिन विकास गर्न लागेको र सो इन्जिनबरे कम्पनीले आफूहरूलाई स्पष्ट जानकारी नदिएको भन्दै कम्पनीविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।

नयाँ सर्चले ‘विभिन्न नैतिक प्रश्न उठाएको’ र यस्ता विषयमा कम्पनी पारदर्शी हुनुपर्ने माग उनीहरुको छ। तर नयाँ सर्च इन्जिन सार्वजनिक गर्ने सम्बन्धमा कम्पनीले आधिकारिक रुपमा कुनै पनि जानकारी दिएको छैन।

अल्फाबेट कम्पनीको सहायक कम्पनी गुगल चीनको सेन्सरसिप कानुनको विरोध गर्दै ८ वर्षपहिले चीनबाट बाहिरिएको थियो।

मानव अधिकार तथा धर्मसम्बन्धी विषयको खोजी गर्न ‘ब्लक’ गर्ने भनिएको उक्त सर्च इन्जिन लन्चका लागि चीन सरकारले स्वीकृति प्रदान गरिसकेको छैन। तर त्यस्तो इन्जिन विस्तार गर्दा जनताको ‘स्वतन्त्र अभिव्यक्ति’ गर्ने अधिकार दबाउन सहयोग गर्ने भन्दै गुगलका कर्मचारी आन्दोलित भएका हुन्।

‘उक्त सर्च इन्जिनले गुगलकै आचारसंहिता उल्लंघन गर्ने’ गुगलका कर्मचारीले लेखेको पत्रमा उल्लेख छ। ‘हामीले अझ पारदर्शी हुन आवश्यक छ, यसका लागि एकै ठाउँमा बसेर छलफल गरी स्पष्ट र खुला प्रक्रिया अपनाउन सकिन्छ। तर यसबारेमा आफूहरुलाई कुनै जानकारी नभएकाले हामी आफैले कस्तो इन्जिन विकास गरिरहेको छौँ भनेर कर्मचारीहरु जान्न चाहन्छन्,’ पत्रमा भनिएको छ।

फेसबुक, गुगल र ट्वीटरजस्ता सामाजिक सञ्जाल तथा सर्च इन्जिनहरू प्रतिबन्धित भएपनि इन्टरनेट प्रयोगकर्ताको संख्या विश्वमै सबैभन्दा बढी चीनमा रहेको छ। सरकारले लगाएको प्रतिबन्धका कारण अमेरिकी प्रविधि कम्पनीले चीनमा बजार विस्तार गर्न संघर्ष गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published.