काठमाडौं । काठमाडौंको बागमति किनाराका सुकुम्बासीहरुले प्रदर्शन गरेका छन् । सोमबार उनीहरूले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्म विरोध र्याली निकालेका हुन् ।
उनीहरुले लालपुर्जाविहीनताको अवस्था कहिलेसम्म ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । उनीहरुले संविधानको मौलिक हकको धारा ३७ मा रहेको आवासको अधिकार सुनिश्चित गरियोस्, वार्ता र संवादको ढोका खुला गर, भूमिहीन, सुकुमबासी तथा अव्यवस्थितहरुको सुरक्षित बसोबासको अधिकार सुनिश्चित हुनैपर्छजस्ता नारा लगाएका थिए।
विनाविकल्प उठिबास बन्द गराउनुपर्ने उनीहरुको माग छ । यसअघि काठमाडौं महानगरपालिकाले नदी किनारामा बस्दै आएका सुकुमबासीलाई बस्ती खाली गर्न भन्दै पत्राचार गरेको थियो ।
तोकेको सीमाभित्र बस्ती नउठेपछि महानगर डोजरसहित सुकुमबासी बस्ती पुगेको थियो । सो क्रममा सुकुमबासी र प्रहरीबीच झडप समेत भएको थियो । आफूहरुको दिर्घकालीन व्यवस्थापनको माग गर्दै उनीहरु निरन्तर आन्दोलनमा छन् ।