काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आमनिर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात–अन्तर्घातको छानबिन गर्न माग गरेका छन् ।
राजनीतिक संवाद समूहले काठमाडौंको महाराजगञ्जमा आयोजना गरेको कार्यक्रममा उनले सरकार निर्माणसँगै सत्ता साझेदारी र भावी सरकारको पाँच वर्षे स्पष्ट कार्ययोजना बनाउनका लागि कांग्रेस केन्द्रीय समिति बैठक चाँडो बोलाउनुपर्ने धारणा राखे ।
‘दलीय गठबन्धनको बैठकले केही निर्णय गर्नुअगाडि पार्टीको बैठकबाट समेत धारणा बनाएर गठबन्धनको बैठकमा लैजानुपर्छ । नेपाली कांग्रसको जीवनमा लोकतान्त्रिक वाम गठबन्धन नयाँ अभ्यास हो । यस्तो अवस्थामा कांग्रेसप्रति जनताको ठूलो अपेक्षा छ । ती अपेक्षालाई कसरी पूरा गर्ने भन्नेमा कांग्रेस सजग हुन जरुरी छ,’ नेता महरले भने ।
सुशासन कायम गरेर मुलुकमा कसरी भ्रष्टाचार न्यूनीकरण गर्न सकिन्छ भन्ने खाका प्रस्ट पार्दै कांग्रेस नयाँ सरकार निर्माणको छलफल र तयारीमा जुट्नुपर्ने महरले बताए ।
‘जनताको आजको चाहना भ्रष्टाचारमुक्त मुलुक हो । स्वदेशमै रोजगारीको प्रत्याभूति हुनुपर्यो भन्ने हो । कानुनको सफल कार्यान्वयन तथा स्थिर सरकार जनताले चाहिरहेका छन् । त्यो कांग्रेसको नेतृत्वबाट मात्रै सम्भव छ । त्यसैले हामीले केन्द्रीय समिति बैठक बोलाएर चाँडो हाम्रो रोडम्याप तयार गर्नुपर्छ,’ उनले भने ।