राजकुमार राई
काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती अहिले त्रासमा छ । कतिबेला डोजर आएर घर भत्काइदिने हो भन्ने डरले उनीहरु रातभर सुत्न सकिरहेका छैनन् ।
गत हप्ता काठमाडौं महानगरपालिका नगरप्रहरी एक्कासी डोजर लिएर सुकुम्बासी बस्ती छिरेपछि दुई पक्षबीच दोहोरो झडप भएको थियो । सुकुम्बासी बस्ती र काठमाडौं महानगरबीच अहिले टकराव बढेको छ । वार्ता गर्ने भनि तोकिएकै मितिमा महानगर प्रहरी डोजर लिएर पुगेपछि सुकुम्बासीहरु उत्तेजित भएर ढुंगा–मुढा गर्दै नगरप्रहरीहरु माथि जाइलागे । बिनाविकल्प आफ्नो बास उठाउन आएपछि जाइलाग्नु बाहेक आफूहरुसँग अरु उपाय नभएको उनीहरुको भनाइ छ ।
महानगर उनीहरुलाई नउठाइ नछोड्ने, सुकुम्बासी बस्तीबासी पनि विकल्प नछोड्ने अड्डीका कारण हाल दुई पक्षबिच टकराव बढेको हो । हाल दुई पक्ष बीचमा कुनै अन्तर–संवाद हुन सकेको छैन ।
नगरपालिकाले एक हप्ताभित्र बस्ती खाली गर्न अल्टिमेटम दिएपनि बस्तीबाट सुकुम्बासी नागरिक नहटेपछि एक्कासी डोजर लिएर नगरप्रहरी त्यस बस्तिमा गएका थिए । त्यसको बिरोध गर्दै बस्तीका नागरिकहरु प्रतिकारमा उत्रिए । स्थानीयको प्रतिकारबाट ३६ जना नगरप्रहरी घाइतेसमेत भएका थिए । सुकुम्बासीहरुले गत मंगलबार नगरपालिकाको कार्यालय घेराउ समेत गरे । त्यसको कुनै प्रतिक्रिया नगरपालिकाले नदिएपछि अहिले उनीहरु दिनहुँ आन्दोलनरत छन् । बुधबारदेखि उनीहरुे मौन जुलुस सहित विरोधमा छन् । सरकारले बैकल्पिक व्यवस्था नगरी जबरजस्ती बस्तीबाट हटाउन खोजेको भन्दै उनीहरुले आक्रोश पोखिरहेका छन् । सरकारले एक्कासी बस्तीबाट उठाउन खोजेपछि आत्म रक्षाका लागि प्रतिकारमा उत्रिएको आन्दोलनमा सहभागी राम प्रसाद भण्डारीको भनाइ छ । साथै सरकारले आफूहरुको माग मुद्दा कुनै सम्बोधन नगरेको र अहिलेसम्म कुनै वार्तामा समेत नबोलाएको उनको आरोप छ ।
फेरि कुुनै पनि दिन महानगरको डोजर आउन सक्ने अड्कल काटेर सुकुम्बासीहरु तयारी अवस्थामा बसि रहेका छन् । यता महानगर पालिकाले पनि अब कसरी जाने भन्ने बारेमा विस्तृत अध्ययन गरी रहेको जनाएको छ । सोमबार सुकुम्बासी बस्तीका नागरिकहरुले प्रतिकार गर्दै डोजर रोकेपछि अहिले नगरपालिका चुपचाप प्र्रतिक्रिविहीन अवस्थामा छ । नगरपालिका पछि हटेको नभएर एउटा बिषेश अध्ययन गरि रहेको र कुनै पनि हालतमा त्यो बस्ती खाली गरेरै छाड्ने महानगरीय प्रहरी प्रमुख एसपी राजु पण्डेको भनाइ छ ।
थापाथली स्थत बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्तीलाई सरकारले अवैधानिक मान्नु स्वभाविक हो । अधिकार सम्पन्न बाग्मती सभ्यता विकास समितिको नजरमा यसले शहरको सभ्यतामाथि फोहोर पारेको छ । आफ्नो घर जग्गा जमिन भाडामा हालेर सरकारको जग्गामा मोजमस्ति गर्ने भु–माफिया भएको नगरपालिकाको आरोप छ । हात हतियारसहित राज्यमाथि जाई लाग्ने राष्ट्रको कुनै नागरिक नभएर सुकुमबासी भनिनेहरु आतंककारी भएको एस पी राजु पाण्डेको भनाइ छ ।

तर सुकुम्बासी बस्तीमा वैकल्पिक व्यवस्था नै नगरी अनाहकमा डोजर चलाउन खोजेर आराजकता निम्त्याएको आरोप सुकुम्बासी बस्ती थापाथलीका आन्दोलनका अगुवा दलमर्दन कामी हाल आमरण अनसन बसिरहेका छन् । विगत १५ बर्षदेखि त्यही बस्तिमा बस्दै आएका कामीले गत मंगलबारबाट आमरण अनसन थालेको बताएका छन् । साथै उनले जबसम्म सरकारले आफूहरुको माग पुरा गर्दैन तबसम्म अनसन जारी राख्ने उनको भनाइ छ ।
अहिले सुकुम्बासी बस्तीका नागरिकहरु कालो ब्यानगर टाँगेर बिरोध गरिरहेका छन् । कुनै पनि बेला महानगर फेरि डोजर लिएर आउन सक्ने भन्दै चुप लागेर बस्न नहुने उनीहरुको भनाइ छ । युट्यूबरहरुले जथाभावी अफवाह फैलाउँदै आफूहरु बिरुद्ध विषबमन गरेर सरकारलाई उक्साएको उनीहरुले आरोप लगाएका छन् । उता काठमाडौं महानगरका मेयर बालेन शाहका सदाबहार प्रशंसक सुकिला–मुकिलाहरु ‘बालेनले जे गर्यो, ठिक ग¥यो’ भन्दै सुकुम्बासीहरुको उठिबास गराउनुपर्ने भन्दै काखी बजाइरहेका छन् ।