‘भोजपुरी व्याकरण (जीवंत मजबून का साथे)’ प्रकाशित

काठमाडौं । भाषाविज्ञ एवं राजनीतिज्ञ डा. गोपाल ठाकुरद्वारा लिखित ‘भोजपुरी व्याकरण (जीवंत मजबून का साथे)’ प्रकाशित भएको छ । बिहीबार बबरमहलमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव मातृका यादव, भाषाशास्त्री प्रा.डा. माधवप्रसाद पोखरेल, प्रा.डा. दानराज रेग्मी, जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष तथा भाषा आयोगका सदस्य मातृका पोखरेल, पूर्वराजदूत युवनाथ लम्साल, भोजपुरी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष आनन्दकुमार गुप्ता, कृतिकार डा. ठाकुर लगायतले उक्त कृतिको संयुक्त रुपमा सार्वजनिक गरे ।

भोजपुरी प्रज्ञा प्रतिष्ठानको आयोजना र अखिल नेपाल लेखक संघको सहआयोजनामा भएको कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव यादवले यो कृति प्रकाशनमा आएपछि पूरै भोजपुरी समुदायलाई लाभ पुगेको बताए । उनले यो श्रमसाध्य काम सम्पन्न गरेर डा. ठाकुरले नेपाललाई निकै ठूलो गुन लगाएको भनाइ राखे । उनले भने, ‘आफ्नो मातृभाषालाई जर्गेना गर्ने लक्ष्यका साथ कृतिकार डा. ठाकुरले लेखेको भोजपुरी व्याकरणले यसको संरक्षण, प्रवद्र्धन तथा विकासमा योगदान दिने आशा राख्न सकिन्छ ।’ उनले डा. ठाकुरले देशकै लागि गर्व गर्नलायक काम गरेको जिकिर गर्दै भाषा र संस्कृति बचेमात्रै पहिचान बच्ने विचार व्यक्त गरे ।

सो कार्यक्रममा भाषाशास्त्री प्रा.डा.माधवप्रसाद पोखरेलले डा. ठाकुरले अद्वितीय काम गरेको सुनाए । उनले भाषाशास्त्रीय कोणबाट उक्त कृतिको चर्चा गर्दै यो अन्तर्राष्ट्रिय प्रकाशन ‘लिंकन युरोपा’ को मोडेलमा प्रकाशित नेपालकै पहिलो ग्रन्थ भएको जिकिर गरे । उनले भारतीय उपमहादिपमा बोलिने भाषामध्ये उत्कृष्ट रहेको यो व्याकरण भाषा वैज्ञानिक दृष्टिकोणमा मौलिक खालको भएको जनाए ।

भाषाशास्त्री प्रा.डा. पोखरेलले भने, ‘यसमा नयाँ ध्वनी, वर्ण, त्रिप्थोङ्गको समेत जानकारी छ, जुन अन्य भाषामा पाइन्न । नेपालमा अहिलेसम्म प्रकाशित व्याकरणहरु कि त अंग्रेजी शैली या संस्कृति शैलीमा मात्र लेखिएका छन् । तर, यो भोजपुरी व्याकरण अन्तर्राष्ट्रिय मोडेलमा छ, जुन नेपालकै लागि पहिलो हो ।’ उनले अझै पनि भाषालाई मात्र सञ्चारका माध्यमको रुपमा व्याख्या गरिने जनाउँदै तर गोपाल ठाकुरले व्याकरणलाई समेत सञ्चारको माध्यमको रुपमा व्याख्या गरेको भनाइ राखे ।

उनले यस कृतिलाई व्यापक रुपमा भोजपुरी भाषीक्षेत्रमा पु¥याउनु पर्नेमा जोड दिए । उनले भने, ‘कृतिले भोजपुरी भाषाको महत्व र महिमालाई अझै सम्पन्न गराउन मद्दत गरेको छ । यसको व्यापक रुपमा चर्चा परिचर्चा हुनु पर्दछ ।’
यस्तै, भाषाशास्त्री प्रा.डा. दानराज रेग्मीले डा. ठाकुरले सरल भाषामा लेखेको यो ‘भोजपुरी व्याकरण’ नेपाली इतिहासमै फरक ढंगले लेखिएको कृति भएको बताए । उनले भने, ‘प्राज्ञिक अध्ययन/अनुसन्धान, मातृभाषा, शिक्षा लगायतका क्षेत्रका लागि यो कृति उपयोगी छ ।’

प्रा.डा. रेग्मीले भोजपुरी व्याकरण लिंकन युरोपाले प्रकाशित गरेकाको अनुवाद होइन, फरक ढंगले लेखिएको नेपालकै लागि मौलिक ग्रन्थ भएको बताए । उनले भने, ‘यो भोजपुरी व्याकरण लिंकन युरोपाले प्रकाशित गरेको अनुवाद होइन, फरक प्रस्तुतिमा नेपालकै लागि मौलिक कृति हो । त्यसैले यो भोजपुरी मातृभाषाका लागि मात्र नभई सिंगो नेपाली भाषा र अन्य मातृभाषाका लागि एउटा मानकका रुपमा आएको छ ।’ प्रा.डा. रेग्मीले यस कृतिले सिंगो मातृभाषा, मातृभाषा शिक्षा, अनुसन्धानका लागि महत्वपूर्ण सहयोग गर्न सक्ने धारणा व्यक्त गरे । उनले यसैलाई आधार बनाई अन्य भाषा वा मातृभाषामा व्याकरण लेख्न सहयोग गर्नुपर्ने बताए । उनले थपे, ‘यो व्याकरणले अन्तर्राष्ट्रिय मोडेल लिंकन युरोपा प्रकाशनलाई अनुसरण गरेकाले यसैका आधारमा अन्य मातृभाषासहित हिन्दी, नेपालीमा समेत लेखिनुपर्छ ।’
सो कार्यक्रममा साहित्यकार हंसा कुर्मीले भोजपुरी भाषालाई संरक्षण गर्न यो कृतिले भूमिका खेल्ने बताइन् । उनले भनिन्, ‘भोजपुरी भाषा शिक्षा, साहित्य तथा कामकाजमा प्रयोग नभए लोप हुँदै जान्छ । यस कृतिले त्यो खाडललाई पुर्ने विश्वास लिन सकिन्छ । साथै यसले भाषाको अभावलाई पूरा गर्ने छ ।’

यस्तै, डा. अम्बिका खरेलले डा. ठाकुरले भोजपुरी व्याकरण लेखेर देशकै लागि राम्रो काम गरेको बताइन् । उनले भाषा बचाउन र यसको महत्वलाई जगाउन कृतिले विशिष्ट भूमिका खेल्ने विश्वास आफूले लिएको विचार व्यक्त गरिन् । जनसांस्कृतिक महासंघ नेपालका उपाध्यक्ष केशव सिलवालले नेपालका सबै राष्ट्रिय भाषालाई अगाडि बढाउन राज्यले गम्भीर ढंगले काम गर्नुपर्नेमा जोड दिए । उनले संघले नेपालमा बोलिने सबै भाषालाई संरक्षण गर्दै कामकाजी बनाउनका लागि सरोकारी संघसंस्थासँग पहल लिइरहेको जनाए ।

यसैगरी, प्राज्ञ दिनेश गुप्ताले साहित्यकार, लेखक, भाषा वैज्ञानिक डा.गोपाल ठाकुरको नेपाली, हिन्दी, भोजपुरी, अंग्रेजीमा समानान्तर योगदानको चर्चा गर्दै मौलिक कृति प्रकाशित गरेकोमा बधाई दिएका थिए ।

कृतिकार डा. ठाकुरले एक दशक लामो खोज अनुसन्धानपछि कृति प्रकाशनमा ल्याएको जनाए । उनले भोजपुरी व्याकरण प्रकाशनपछि यसले भाषा संरक्षणसँगै यसको महत्वलाई अझै बढाउने विश्वास लिएको बताए । भोजपुरी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष आनन्दकुमार गुप्ता ‘अस्तित्व’ ले भोजपुरी भाषाका लागि महत्वपूर्ण कृति प्रकाशनमा आएको बताए । उनले भोजपुरी भाषा तथा व्याकरणका बारेमा चर्चा गर्दै कृतिले यस भाषालाई अझै समृद्ध बनाउन मद्दत पुगेको विचार व्यक्त गरे ।

सो कार्यक्रममा अग्रज कलाकार जुलुमलाल चित्रकार, प्रलेसका केन्द्रीय अध्यक्ष डा. मधुसूदन गिरी, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुप्रसाद सापकोटा ‘जुगल’, समाज अध्ययन परिषद् नेपालका अध्यक्ष धर्मेश पोखरेल, प्राज्ञ विणा सिन्हा, त्रिविवि केन्द्रीय हिन्दी विभागका प्रमुख प्रा.डा संगीता वर्मा, लोकमैथिली भाषी अनुसन्धानकर्मी एवं पत्रकार दिनेश यादव, प्रा.डा. देवनारायण यादव, भोजपुरी सञ्चारकर्मी राकेश मेहता, गायक अंजली पटेल, मैथिली भाषाका साहित्यकार विनित ठाकुर, लगायतका उपस्थिति थियो । ‘भोजपुरी व्याकरण’ कृति प्रकाशनमा अमेरिकामा बसोबास गरिरहेका सुभासकुमार बैठाले सहयोग गरेका छन् ।

Leave a Reply

Your email address will not be published.