संगी श्रेष्ठको एकल कला प्रदर्शनी सुरु

ललितपुर । कलाकार संगी श्रेष्ठको ‘स्पन्दन’ एकल कला प्रदर्शनी सुरु भएको छ । पुल्चोकस्थित जिजी मचानमा बुधबारदेखि भएको प्रदर्शनीमा संस्कृति, प्रकृति, समाज र मानवीय मनोवृत्तिलाई चित्रण गरिएका कलाकृति राखिएको छ । एक महिनासम्म चल्ने प्रदर्शनीमा कलाकार श्रेष्ठले रङ र रेखामार्फत जीवन र जगतका शाश्वत पक्षलाई कलामक ढंगले उनेकी छन् ।

प्रदर्शनी केही समयअघि दिवंगत आमा अम्बिकादेवी श्रेष्ठको स्मृतिमा गरिएको संगीले बताइन् । उनले भनिन्, ‘के गरी राखेकी ? पेन्टिङ ? खै देखाउ त ? अक्सर म पेन्टिङ गरिरहेको बेलामा आमाले फोन गर्दा यही भन्नुहुन्थ्यो । अनि फोनमा भिडियोबाट मैले चित्र बनाउँदै गरेको काम देखाउने गर्थें । अनि आमा आफ्नै तरिकाले समीक्षा गर्न थाल्नुहुन्थ्यो । अनि मैले काम गरेको अनलाइनमै घण्टौं बसेर हेरि राख्नुहुन्थ्यो ।’ आमा आफ्नो कलायात्राको प्रेरणाको स्रोत भएको बताउँदै कलाकार संगीले भावनात्मक सँगै कलामा लाग्न सधै ऊर्जा भरेको सुनाइन् । उनले भनिन्, ‘हामी हाम्रा अधिकाशं समय यसरी नै साट्दथ्यौं । मेरो कला जीवनका हरेक गतिविधिप्रति उहाँ बडो स्नेहपूर्वक चासो राख्ने गर्नुहुन्थ्यो । मेरा ससाना उपलब्धिले पनि उहाँलाई खुसी तुल्याउँथ्यो । उहाँको खुसी देखेर म झन खुसी हुन्थेँ । त्यसैले होला, म ससाना कुरा पनि उहाँलाई सुनाउन आतुर हुन्थेँ ।’ उनले आफ्ना कलाकृतिमा देखिने महिला आकृतिका टिका र सिन्दुर पनि आमाबाट प्रभावित भएर बनाएको बताइन् । उनले भनिन्, ‘टिकाले उहाँको निधारमा झैँ मेरा चित्रका महिला आकृतिले पनि एउटा सम्पूर्णता पाएको आभाष म गर्दछु । तर आज उहाँ यो भौतिक संसारमा हुनुहुन्न । मेरो हरेक कलायात्रामा गर्व गर्ने एक महत्वपूर्ण साक्षी मैले गुमाएकी छु । तर आजसम्म पनि मलाई उहाँ यतै कतै हुनुहुन्छ जस्तो आभाष भइरहन्छ । उहाँका स्पन्दनहरू महशुस भइरहन्छ ।’ कलाकार संगीले यस पटकको एकल प्रदर्शनी आमाको सम्मानमा समर्पण गरेको बताइन्

कलाकार संगीको कलाले आफूलाई प्रभावित गर्ने गरेको इआर्ट्स नेपालका अध्यक्ष सुसन श्रेष्ठले बताइन् । उनले भनिन्, ‘उहाँको शैली अरुको भन्दा भिन्न लाग्दछ । उहाँका कलाकृतिहरु बेलाबेलामा संकलन गर्दै आइरहेको छु । यो पटकको प्रदर्शनीमार्फत उहाँले आफ्नो आमाप्रति देखाउनु भएको सम्मानले झन् प्रभावित भएको छु ।’

जिजी मचानका नीरज कोइरालाले तीन दशकदेखि कला क्षेत्रमा सक्रिय कलाकार संगीको कला क्षेत्रमा छुट्टै स्थान भएको बताए । उनले भने, ‘उहाँजस्तो स्थापित कलाकारको कला प्रदर्शनी आयोजना गर्न पाउँदा खुसी लागेको छ ।’
प्रदर्शनीका बारेमा कवित विप्लव प्रतीकले आफू संगीको कलाको पारखी भएको बताए । उनले संगीका कलाकृति हेर्दा आनन्दित महशुस हुने जिकिर गर्दै उनले कलाकार संगीका कलामा रङ र रेखाको संयोजन मनमोहक लाग्ने सुनाए । नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले संगीका कलाकृतिमा बेग्लै प्रकारको आकर्षण रहेको विचार व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published.