टुकुचा सुरूङमाथिका घर भत्काउने महानगरको अभियानमा उच्च अदालतको ‘ब्रेक’

काठमाडौं, २ असोज । टुकुचाको भूमिगत सुरुङ भत्काइ सुरूङमाथि बनेका घरहरू भत्काउने काठमाडौं महानगरपालिकाको अभियानलाई उच्च अदालत ‘ब्रेक’ लगाइदिएको छ । टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएसँगै यो अभियान रोकिने भएको हो ।

आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रित नपुर्‍याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

‘निज निवेदकहरूमाथि उल्लिखित जग्गामा बनेको घर कानुनबमोजिम रित नपुर्‍याई वा उचित क्षतिपूर्ति नदिई भत्काउने कार्य नगर्नू-नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ,’ पाटन अदालतको आदेशमा भनिएको छ ।

अहिले दिइेको यो आदेशको निरन्तरता हुने वा नहुनेबारे अर्को आदेश गर्न असोज ५ गते अदालतले दुवै पक्षलाई बोलाएको छ ।

यससँगै पुरातत्व विभागले पनि टुकुचा जमिनमुनिबाट बगाउन १३० वर्षअघि राणा प्रधानमन्त्री वीरशमशेरका पालामा निर्माण भएको भूमिगत सुरूङलाई ‘ऐतिहासिक महत्वको पुरातात्विक सम्पदा’ भन्दै त्यसमा क्षति पुग्ने गरी काम नगर्न काठमाडौं महानगरपालिकासँग छलफल गर्ने भएको खबर छ ।

Leave a Reply

Your email address will not be published.