सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित

काठमाडौं, २३ भदौ । बलात्कार गरेको आरोप लागे पछी नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका क्याप्टेन सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । १७ बर्षीया नाबालिग किशोरिलाई बलात्कार गरेको आरोप लागेका लामिछानेलाई क्यानले निलम्बन गरेको कार्यबाहक सचिव प्रशान्त विक्रम शाहले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

यसअघि आजै बालिका करणीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्याप्टेन लामिछानेमाथि काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

‘नेपाल राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन सन्दीप लामिछाने उपर जबरजस्ती करणी कसुरमा प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निजउपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्य सम्पादन समितिको निर्णयअनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ‚’ क्यानद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

मुलुकी अपराध संहिता २०७४ अन्तर्गत परिच्छेद–१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसुरमा लामिछाने उपर थप अनुसन्धान गर्नका लागि अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी जनाएको छ ।

संहितामा १६ देखि १८ वर्ष उमेरको नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको पुष्टि भएमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

लामिछाने लिग क्रिकेट खेलका सिलसिलामा हाल मुलुक बाहिर छन् ।

Leave a Reply

Your email address will not be published.