बुद्धिमान, मूर्ख र दास

– लू शुन

झाऊ शुरेन प्रसिद्ध चिनियाँ लेखक तथा साहित्यकार हुन् । उनको साहित्यिक नाम लू शुन हो । यिनी लघुकथा लेखक, सम्पादक, अनुवादक, आलोचक, निबन्धकार र कवि पनि थिए । शुन चिनियाँ साँस्कृतिक क्रान्तिका अगुवामध्ये एक थिए । उनको मृत्यु ५५ वर्षको उमेरमा १९ अक्टोबर १९३६ मा भएको थियो ।

चीनको प्रगतिशील साहित्यमा कलम चलाएका यिनको लेखन विश्व प्रसिद्ध मानिन्छ । यिन्को मृत्यु पश्चात माओत्से तुंगले भनेका थिए –“उनि सांस्कृतिक क्रान्तिका महान सेनापति र वीर सेनानी थिए । उनि केवल लेखक मात्र होइनन्, एक महान विचारक र क्रान्तिकारी पनि थिए ।”

यिनका कृतिहरू विश्वका धेरै भाषामा अनुवाद भएका छन् । शुनका कृतिहरू नेपालमा पनि लोकप्रिय मानिन्छन् ।
प्रस्तुत छ उन्को ‘बुद्धिमान, मूर्ख र दास’ शिर्षकको कथाको नेपाली अनुवाद :

एउटा दास काम केही गर्दैन थियो तर सधैं मानिसहरूको पर्खाइमा रहन्थ्यो, ताकि उसले तिनीहरूलाई आफ्नो दुःखका सुनाउन सकोस् । उ त्यस्तै थियो र उसले गर्नसक्ने पनि त्यती नै थियो । एक दिन उसले एकजना बुद्धिमान मानिसलाई भेट्यो ।

“अभिवादन !” उस्ले दुखी स्वरमा रुँदै भन्यो, गालामा आँसु बगाउँदै भन्योे, “तिमीलाई थाहा छ, म कुकुरको जीवन बाँचिरहेको छु । म दिनमा एकपटक पनि खान पाउँदिन र पाए पनि कोदोको भुसी मात्रै, जुन सुँगुरले पनि खान सक्दैन । त्यो पनि के भन्नु र, सानो कचौरामा भन्दा बढि हुँदैन ।”

“यो साँच्चै खराब हो ।” बुद्धिमान मानिसले सहानुभूति व्यक्त गर्यो ।

“अरू के ?”, ऊ अलिकति उत्साहित भयो, “जब म दिनभरी र रातभर भोकै बस्छु । बिहान पानी भर्नुपर्छ, बेलुका खाना पकाउँछु, बिहानै तोकिएको काम गर्छु, बेलुकी गहुँ पिसाउँछु, मौसम राम्रो हुँदा लुगा धुन्छु, पानी परेपछि छाता बोक्नुपर्छ । जाडोमा म आगो बाल्छु, र गर्मीमा म पंखा चलाउँछु । मध्यरातमा म केक पकाउँछु र जुवाअखडामा व्यस्त मेरो मालिकलाई पर्खन्छु । तर मैले कहिल्यै कुनै बक्सिस पाउँदिन, बरु समय–समयमा कोर्रा खानुपर्छ ।”

“मेरो प्रिय…” ज्ञानी मानिसले सास फेरे । उसको आँखाको छेउ अलिकति रातो थियो, मानौं ऊ रुन लागेको थियो ।

“म यसरी बाँच्न सक्दिन महोदय । मैले केही समाधान खोज्नुपर्छ । तर म के गर्न सक्छु ?”

“मलाई यकीन छ स्थिति सुधार हुनेछ …“

“तपाईंलाई त्यस्तो लाग्छ ? पक्कै पनि म आशा गर्छु । तर अब जब मैले तपाईलाई मेरो दुःख भनेको छु र तपाईले मलाई धेरै समानुभूतिको साथ प्रोत्साहन दिनुभएको छ, म पहिले भन्दा राम्रो महसुस गर्छु । यसले संसारमा अझै केही न्याय छ भन्ने देखाउँछ ।”

तर, केही दिनपछि फेरि उ दुःखले भरियो र आफ्नो पीडा सुनाउन अर्को मानिसलाई फेला पा¥यो ।
“अभिवादन !” उसले आँसु झार्दै भन्यो, “तपाईंलाई थाहा छ ? म बसेको ठाउँ सुंगुर फार्मभन्दा पनि खराब छ । मेरो मालिकले मलाई मान्छे ठान्दैनन् । उसले आफ्नो कुकुरलाई म भन्दा दश हजार गुणा राम्रो मान्छ…”

“उसको सर्वनाश होस् !” अर्को व्यक्तिले यति ठूलो स्वरले गाली ग¥यो कि दास छक्क पर्यो । यो दोस्रो व्यक्ति मूर्ख थियो ।
“म जहाँ बस्छु नि, मान्यवर ! त्यो एउटा टुटेफुटेको झुप्रोमा बस्छु, जहाँ थोत्रा थांङ्नाभोगटा, चिसो र एकदमै उडुस छ । म जसै सुत्नथाल्छु, तिनीहरूले टोक्न थाल्छन् । ठाउँ दुर्गन्धपूर्ण छ र त्यहाँ एउटा झ्याल पनि छैन …”

“के तपाइँ तपाइँको मालिकलाई एउटा झ्याल बनाइदिनको लागि भन्न सक्नुहुन्छ ?”

“म कसरी भन्न सक्छु ?”

“ठीक छ, मलाई ठाउँ कस्तो छ देखाउनुस् ।”

त्यो मुर्ख मानिसले दासको पछिपछि लागेर झुपडीमा गयो र माटोको भित्तामा हिर्काउन थाल्यो ।

“के गर्दै हुनुहुन्छ मान्यवर ?”

दास डरायो ।

“म तिम्रो लागि झ्याल खोल्दै छु ।”

“यो ठीक हुनेछैन । मालिकले मलाई मार्नेछ ।”

“मार्न देऊ ।” मुर्ख मानिसले भित्तामा हिर्काइरह्यो ।

“दौड ! घरमा डाका पसेको छ । छिट्टै आऊ नत्र त्यसले पर्खाल भत्काइदिनेछ…।” कराउँदै र रुँदै, दास भुइँमा दिमाग खुस्किएको मान्छे जस्तै लडिबुडी गर्न थाल्यो । दासहरूको पूरै समूह आयो र त्यो मूर्खलाई धपायो । यो कोलाहल सुनेर बिस्तारै बाहिर निस्कने अन्तिम व्यक्ति मालिक थियो ।

“एक डाकाले हाम्रो घर भत्काउन खोज्यो । मैले सबैभन्दा पहिला खतराको सूचना दिएँ, र सँगै हामीले मूर्खलाई खेदाइदियौं ।” गुलामले सम्मान र विजय–गर्वका साथ भन्यो ।

“तिमीलाई राम्रो छ !” मालिकले उसको प्रशंसा गरे ।

त्यस दिन धेरै मानिसहरू उसलाई सहानुभूति देखाउन आए, जसमध्ये एकजना उही बुद्धिमान व्यक्ति पनि थियो ।

“मान्यवर, मैले आफूलाई कामको योग्य साबित गरे, जसले गर्दा मालिकले मेरो प्रशंसा गर्नुभयो । तिमी साँच्चिकै दूरदर्शी हौ, त्यो दिन कुरा सुध्रिन्छ भनेर भन्नु भएको थियो ।” उसले निकै आशावादी र खुसी हुँदै भन्यो ।

“यो सहि हो…।” बुद्धिमान मानिसले जवाफ दियो, र उनी पनि आफैंमा खुसी देखिन्थे ।

– अनुवाद : योगेश खपाङ्गी

Leave a Reply

Your email address will not be published.