दाङ,३१ साउन – जिल्ला प्रशासन कार्यालयले अब शनिबार पनि सेवा दिने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङले शनिबारको दिन पनि सेवा दिने निर्णय गरेको हो ।
गतवर्ष दशैं बिदामा समेत कार्यालय सञ्चालन गरेको कार्यालयले त्यसको प्रभावकारितालाई ध्यानमा राखेर शनिबार समेत कार्यालय खोल्ने तयारी गरेको हो।
टाढा–टाढाबाट आउने सेवाग्रही र हप्ताको ६ दिन व्यस्त हुनेहरुको लागि शनिबारको सेवा प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए। ‘सरकारी कर्मचारी, व्यापारी लगायतका व्यक्तिहरु आफ्नै प्रशासनिक काम गर्न गराउन नभ्याउने हुन्छन्, त्यसैले शनिबार पनि कार्यालय खुल्ला गरे त्यस्ता नागरिकलाई सजिलो होला भनेर यस्तो निर्णय गरेका हौं’, प्रजिअ श्रेष्ठले भने, ‘गत वर्ष दशैं बिदामा कार्यालय खोल्दा पाएको सकारात्मक टिप्पणीले शनिबार पनि सेवा दिनुपर्छ भन्ने उत्साह जागेको हो।’
यस्तो सेवावाट व्यापारी, कर्मचारी र हप्ताभरी नै व्यस्त हुनेहरु लाभान्वित हुने छन् ।