वीरगञ्ज ,३१ साउन – पर्सा बहुदरमाई नगरपालिका– २ का ६ वर्षीय आयोग साहको हत्या परिवारकै सदस्यबाट भएको बताएको छ । असार ३१ गते स्थानीय पोखरीमा मृत भेटिएका साहको हत्या सम्बन्धी अनुसन्धान गर्दा एक महिना पछी शिवजी साहको छोरा आयोगकको हत्या परिवारकै सदस्य हजुरबुवा र ठूली आमा मिलेर गरेको प्रहरीले खुलासा गरेको हो ।
साउन ३१ गते बिहान ८ बजे खाना खाएर घरबाट निस्किएका आयोग घरदेखि अन्दाजी ३ सय मिटर उतरतर्फ रहेको बाँसको झाङ नजिकैको पोखरीमा दिउँसो २ बजेतिर मृत भेटिएका थिए ।
हत्या अभियोगमा प्रहरीले जिल्ला पर्सा, बहुदरमाई–२, बैरीया विता बस्ने ताराचन्द साह र रितादेवी साहलाई पूर्पक्षका लागि कारागार चलान गरेको छ । ताराचन्द आयोगका हजुरबुवा हुन् भने रिता ठूली आमा ।
अनुसन्धानको क्रममा संकलित प्रमाणका आधारमा उनीहरु दुवै जना मिलेर बालकको हत्या गरेको देखिएको छ । हत्याको कारण भने अझै खुल्न नसकेको ले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार उनीहरुले पोखरीको उत्तरी किनारमा रहेको खर काँस सहितको बाँसको झाङमा लगी आयोगको घाँटी बटारेर हत्या गरेका थिए । त्यसपछि नजिकैको पोखरीमा लास फालेका थिए ।
पर्सा जिल्ला अदालतको साउन २८ गतेको आदेशले साउन ३० गते दुवै जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
त्यस्तै पर्सामै प्रहरीले दुई अन्य बालकको हत्या घटनाको दोषी पत्ता लगाउन सकेको छैन ।
०७३ असोज २० गते मृत भेटिएका बहुदरमाई वडा नं। ८ रामनगरी बस्ने विनोद पटेलको छोरा वर्ष ९ को राजन पटेल र ०७४ मंसिर १६ गते शिवजी साहको दाइ सञ्जय साहको १० वर्षीय छोरा सुमित साहको पनि हत्या भएको थियो । घरबाट हराएको ४ दिनपछि सुमितलाई छुरा प्रहार गरी मारेर पोखरीमा फालिएको अवस्थामा शव फेला परेको थियो ।