के सम्भव होला एकैपटक सात वर्षको आर्थिक लेखापरीक्षण गर्न ?

काठमाडौँ,३० साउन– साझा प्रकाशनले महालेखापरीक्षकको कार्यालयबाट एकैपटक सात आर्थिक वर्षको लेखापरीक्षण शुरु गरेको छ ।

प्रकाशन लेखापरीक्षकको आज बसेको बैठकले आव २०६८÷०६९ देखि आव २०७४÷०७५ सम्मको लेखापरीक्षण थालेको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले बताएका छन्। अहिलेसम्म सरकारी निकायले लेखापरीक्षण नगरेकोले पहिलो पटक महालेखापरीक्षकको कार्यालयबाट उक्त कार्य शुरु गरिएको हो । साझाले आव २०६३÷०६४ देखि आव २०६७÷०६८ सम्मको कार्यालयले गरेको लेखापरीक्षण पुनरवलोकन गर्ने भएको छ ।

“अगाडिका व्यवस्थापकका मान्छेले आफ्नो अनुकूल लेखापरीक्षक नियुक्ति गरेर सो कार्य गराउँदै आए, तर अब हामीले सरकारको लेखापरीक्षकबाट गराउँदैछौ,” उनले भने, यसअघि महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षण गराउँदा कर्मचारीको अवरोधले हुन सकेको थिएन । आव २०६८÷०६९, २०६९÷७० र २०७०÷७१ को लागि सुरज घिमिरे, आव २०७१÷०७२, २०७२÷७३ र २०७३÷७४ को लागि नरेश ढुङ्गाना र आव २०७४÷०७५ का लागि राजकुमार खड्कालाई लेखापरीक्षक नियुक्ति गरेको छ ।

साझाले आन्तरिकरुपमा आव २०७१÷०७२ सम्मको लेखापरीक्षण सकेको छ । अध्यक्ष तथा महाप्रबन्धक शर्माले लेखापरीक्षणबाट संस्थाको समग्र वित्तीय अवस्थाको बारेमा जानकारी हुने र संस्था सुधारका लागि आवश्यक थप रणनीति अपनाउन सजिलो हुने बताए । सो कार्य तीन महिनामा सक्ने लक्ष्य छ । रासस

Leave a Reply

Your email address will not be published.