झुलाघाटमा झोलुङ्गे पुल नहुदाको पिडा : ‘२० बर्ष’ देखिका आश्वासन अब असम्भव

काठमाण्डौँ , ३० साउन –  भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा महाकाली नदीमाथि पक्की पुल नहुँदा प्रदेश ७ को बैतडीसहित पुरै जिल्लाहरुको आर्थिक समृद्धिमा बाधा पुगेको छ । सरकारले घोषणा गरेको मध्यपहाडी लोकमार्गको अन्तिम विन्दु झुलाघाटमा पक्की पुल नहुँदा समस्या हुने गरेको छ । झुलाघाट नाकामा पक्की पुल नहुँदा बैतडीका विभिन्न क्षेत्रमा आउन चाहने भारतीय पर्यटक आउन नसकेको बैतडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरबहादुर चन्दले बताएका छन । यस्तै उनले भने “सीमा क्षेत्रका धेरै पर्यटक बैतडी आउन चाहे पनि सीमाक्षेत्रमा पक्की पुल नहुँदा उनीहरूलाई भित्र्याउन सकिएको छैन ।”

प्रदेश ७ का पहाडी जिल्लाबाट भारत जाने प्रमुख नाकाको रुपमा रहेको झुलाघाट नाकामा मोटरेबल पुल नहुँदा यो क्षेत्रको आर्थिक समृद्धिमा बाधा पुगेको स्थानीयले बताएका छन । झुलाघाटमा करीब डेढ सय वर्षअघि इष्टइण्डिया कम्पनी द्वारा निर्मीत जीर्ण अवस्थामा रहेको उक्त झोलुङ्गे पुलबाट अहिले सम्म आवतजावत भइरहेको छ ।

भारत भ्रमणको एजेन्डामा पनि नेपालको तर्फबाट झुलाघाटसहित सीमामा पक्की पुलको कुराले चर्चा पाउने गरेको भएपनि पक्की पुल नभएकै कारण करोडौंको व्यापार घाटा व्यहोरिरहेका यहाँका व्यवसायीको भनाइ छ ।

झुलाघाटमा पक्की पुल नहुँदा नेपालमा उत्पादित तरकारी, महलगायतका वस्तुहरु निर्यात गर्न कठिनाइ भएको लघु उद्यमी समूह सङ्घ बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताएका छन । झोलुंगे पुल मात्र नभइ दुई देशको सम्बन्ध जोड्ने माध्यमको रुपमा रहेको पुल पक्की हुनुत टाढाको विषय भयो पुल जीर्णोद्वारका विषयमा समेत चासो दिइएको देखीदैन । झुलाघाटसम्म दुवै देशले पक्की सडक निर्माण गरे पनि मोटरेबल पुलका लागि सरकारले तदारुकता नदेखाउँदा समस्या भएको हो ।

झुलाघाट नाकामा पुल निर्माणका लागि ०५५ सालदेखि सर्भे मात्रै हुने गरेको सीमाक्षेत्रका बासिन्दा बताउँछन् । सर्भेअनुसार भारत जोड्ने पुलको लम्बाइ ९० मिटर छ । विसं ०५६ मा पुलको डीपीआरसमेत बनेको थियो । उक्त डीपीआरअनुसार पुल निर्माणका लागि रु ६ करोड ५० लाख लागत लाग्ने अनुमान गरिएको थियो । पहाडी क्षेत्रमा सुविधायुक्त अस्पताल नहुँदा प्रदेश ७ का बैतडी, दार्चुला, डडेलधुरा, बझाङलगायत सर्वसाधारण उपचारका लागि झुलाघाट नाकाबाट भारत जाने गर्छन् ।

सडक सुविधा पुगेको दुई दशक बित्दासमेत सुदूरपश्चिमको पहाडी नाका झुलाघाटमा मोटरेबल पक्की पुल नहुँदादा बिरामीलाई उपचारका लागि बोकेर लैजानुपर्ने बाध्यता रहेको छ । पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० नबन्दा झुलाघाट पक्की पुल निर्माणको विषय पनि अन्योलमा परेको बैतडी प्रदेश ‘ख’ का सांसद लिलाधर भट्टले बताएका छन ।

झुलाघाट पञ्चेश्वरको प्रभावित क्षेत्रमा पर्दछ उहाँले भन्नुभयो, “पञ्चेश्वर बहुद्देश्यीय आयोजना बन्ने भएपछि झुलाघाटमा पुल बन्न असम्भव छ ।” पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको प्रभावित क्षेत्रमा ठूला संरचना निर्माण नगरिने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.