सिरियालार्इ चिनियाँ सैनिक सहयोग

एजेन्सी । चीनले सिरियन सरकारलार्इ आफ्ना भूभागहरु फिर्ता लिन सैनिक सहयोग गर्ने जनाएको छ । सिरियाका लागि चिनियाँ राजदुत कि कियनजिनले सिरियाको सरकार समर्थक दैनिक अखबार अल वतनलार्इ दिएको एक अन्तर्वार्तामा आतंककारीहरुले कब्जा गरेर बसेको सिरियाका भूभागबाट आतंककारीहरुलार्इ लखेटी ती क्षेत्रहरु मुक्त गराउन बसर अल अस्सादको सरकारलार्इ सहयोग गर्न बेइजिङ्ग तयार रहेको बताएका छन् भनि मिडिल इष्ट मिडिया रिसर्च इन्ष्टिच्युटले पठाएको खबरलार्इ एसिया टाइम्सले उल्लेख गरेको छ ।

चाइनिज उइगुर अतिबादीहरु सिरियन सरकार बिरुद्धको आतंककारी युद्धमा सामेल भएकोमा चिनियाँ राजदुतले खेद प्रकट गर्दै चिनियाँ सरकार सिरियन अरब सेनाको पक्षमा रहेको र सहकार्य गर्न तयार रहेको विचार प्रकट गरेका थिए ।

चिनियाँ सरकार उइगुर आतंककारीहरुको सघन उपस्थिती भएको इद्लिबलार्इ मुक्त गर्ने सरकारी प्रयासलार्इ सहयोग गर्न तयार छ कि भनि सोधिएको एक प्रश्न को जवाफमा राजदुत कि ले हामीहरु परिस्थितीको नजिकबाट मुल्यांकन गरिरहेका छौं, बिशेष गरि दक्षिणी सिरियामा भएको युद्धमा सरकारी सेनाको विजय पश्चात चिनियाँ सरकार सिरियन सेनालार्इ इद्लिब र अन्य कुनै भूभाग आतंककारीहरुबाट मुक्त गराउन कुनै पनि प्रकारले सघाउन उत्सुक रहेको बताएका थिए ।

इद्लिब एक्पिडिसनमा चिनियाँ जनमुक्ति सेना पनि सम्मिलित हुन्छ कि भनि सोधिएको अर्को प्रश्नमा चिनियाँ दुताबासका सैनिक सहचारी वोंग रोय चंगले ‘चीन र सिरियाबीच सैनिक सम्बन्ध अटुट रुपमा रही आएको र यो सम्बन्ध दुवै देश को सुरक्षा, अखंड़ता र स्थायित्व कायम गर्न अत्यन्त महत्वको सावित भएको’ जवाफ दिएका थिए ।

चीन र यसको जनमुक्ति सेना सिरियन अरब सेनासँग नजिकको सम्बन्ध बिकसित गर्न उत्सुक रहेको र इद्लिब अपरेशनमा सहभागिताको लागि राजनैतिक निर्णयको जरुरत पर्ने तथ्यसमेत वोंगले बताएको समाचार मा जनाइएको छ । साथै चिनियाँ सैनिक सल्लाहकारहरु र बिशेष सैन्य दस्ताको सिरियामा उपस्थिती रहेको कुराको भने उनले जोडदार खण्डन गरेका छन्, भनि उक्त समाचारमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published.