रुकुम । अविरल वर्षासँगै आएको पहिरोले जिल्लाको आठविसकोट नगरपालिकामा चार वटा पसल बगाएको छ । सोमबार राति आएको पहिरोका कारण नगरपालिका ४ गोतामकोटस्थित छोटेबगरमा रहेका चार पसल बगाएको प्रहरीले जानकारी दिएको छ ।
जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका वडा नम्बर १२ को तल्लुबगरबाट आएको पहिरोले ठुलो भेरी नदी थुनिँदा छोटेबगरमा पसल गरिरहेका जाजरकोट त्रिवेणी नलगाड १० का बिरबहादुर ध्यार, जयकुमारी सार्की, कपिलबस्तु घर भएका पुस्पलाल घर्ती र बिनोद मल्लको पसल पहिराले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिएका छन् ।
चार वटा पसल बगाउँदा २६ लाख ५० हजारभन्दा बढिको क्षती भएको उनले बताए । पहिरोकै कारण अन्य सात वटा पसल अति जोखिममा रहेको प्रहरीले जानकारी दिएको छ । सो ठाउँमा व्यवसाय सञ्चालन गर्दै आएका शक्ति चनारा, रेशमबहादुर शाही, विर्खबहादुर विष्ट लगायतका ७ वटा पसल जोखिम पूर्ण अवस्थामा रहेको स्थानीय घनश्याम भण्डारीले जानकारी दिए । ती सातै वटा पसलबाट समेत केहि सामान बगाएको बताइएको छ । करिब चार लाख ७५ हजार बराबर समान बगाएको प्रहरीले बताएको छ ।
पहिरोका कारण यहाँ मानविय क्षती नभएपनि ३१ लखा २५ हजार बराबरको धनमाल बगाएको डिएसपी खड्काले बताए । चार वटा पसलबाट कुनै सामान निकाल्न नसकिएको र बाँकी सात वटा पसलबाट भने प्रहरी र स्थानीयले केहि सामान निकालेको उनले बताए ।
जाजरकोटको भु–भागबाट पहिरो खसेको भएपनि क्षति भने रुकुममा भएको छ । नदी माथिबाट आएको पहिरोले भेरी नदीको बहावलाई रुकुम पश्चिमको भु–भागतर्फ धकेल्दा छोटेबगरमा रहेका पसलहरुमा क्षती पुगेकोे हो । पहिरो झरेलगत्तै गोतामकोटमा रहेको प्रहरीको टोली र स्थानीयले रातभर उद्धार गरेका थिए ।